स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको शोकमा विद्यालयमा बिदा

बुटवल । असार ५ । वरिष्ठ न्युरो सर्जन डा‌. उपेन्द्र देवकोटाको निधनप्रति दुख ब्यक्त गर्दै सबर्त्र उहाका योगदानको स्मरण गरिएको छ ।

डाक्टर देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका–४ को अमरज्योति जनता माविमा आज विदा दिइएको छ ।

सोमबार निधन भएका प्रख्यात स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटालाई उहाँ आफैंले स्थापना गरेको काठमाडौको न्युरो अस्पतालमा श्रद्धाञ्जली दिइँएको छ । पित्त नलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटाको उपचारका क्रममा सोमबार साँझ ५.३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमै निधन भएको थियो ।

पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत बैशाख १५ गते नेपाल फर्किएका थिए ।
न्युरो सर्जनका रुपमा ख्यातीप्राप्त डाक्टर उपेन्द्र देवकोटाले धेरैलाई पुनर्जीवन दिएकाले पनि उहाँको सर्बत्र सम्झना गरिएको छ ।

विक्रम संवत् २०११ सालमा गोर्खाको पालुङ्टार बोहोरागाँउमा जन्मिएका देवकोटाले गोरखाकै अमर ज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी गर्नुभएको थियो ।

काठमाडौंको अमृत साइन्स कलेजबाट आइ.एस्सी गरेपछि उहाँले भारतको असममा छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर पाउनुभएको थियो ।
देवकोटा पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्री समेत बन्नुभएको थियो ।
उहाका श्रीमती र ३ छोरी छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बक्तव्य
न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको आज भएको निधनबाट हाम्रो पार्टी स्तब्ध भएको छ । विक्रम् सम्बत २०१० पुस ४ गते गोरखाको लिगलिगमा जन्मिएर गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका प्रा.डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गर्नुभएको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक छ । स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति राष्ट्र सधैँ ऋणी रहिरहनेछ । आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने प्रा.डा. देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा स्मरणीय भइरहनेछ ।
प्रा.डा. देवकोटाको निधनबाट राष्ट्रले एक असाधारण सपुत गुमाएको छ । यस दुखद घडीमा म नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकको यस घडीमा म उहाँका परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

देवकोटाको निधन प्रति काँग्रेसको शोक प्रस्ताव पारित

नेपाली काँग्रेसले सुप्रसिद्ध चिकित्सक उपेन्द्र देवकोटाको निधनले नेपाली कांग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखीत तुल्याएको भन्दै शोक प्रस्ताव पारित गरेको छ । शोक वक्तब्यमा भनिएको छ– हजारौं जिवन बचाउन सफल डा.देवकोटाको असामयिक निधन राष्ट्रको लागि ठुलो क्षतिको घटना हो । चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणिय क्षतिको घटना पनि हो । दुर्गम गाउँमा जन्मीएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहि रहने छ । उहाँको आत्मालाई स्वर्गमा शन्ति मिलोस भन्ने कामना गर्दै हेटौडामा आज बसेको केन्द्रीय कार्यसमितिको वैठकले १ (एक) मिनेट मौन धारण गर्दै शोक सन्तप्त परीवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछु भनेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.