बुटवल,असार १५ । खेतिकिसानीसँग जोडिएको दिनआज असार १५ ।यसलाई मानो रोपेर मुरी फलाउने बेला भनिन्छ । वर्षा ऋतुको भरिलो महिना पनि असार हो। गर्मी बढ्छ। आकाशमा बादल चढ्छ। अनि पानी बर्षन थालेपछि किसानहरु धान रोप्न खेतमा ब्यस्त हुन्छन ।
असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्हा मा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ ।
सरकारले असार १५ लाई धान दिवसका रुपमा समेत मनाउन थालेपछि पर्वकै रुपमा रौनक बढ्दैछ । असार पन्ध्रको दिन देशका विभिन्न क्षेत्रमा धान रोपाइसँगै असार पन्ध्र पर्वकै रुपमा मनाइदैछ । पोखरामा त झन पर्यटकहरुको उपस्थितिमा बिशेष कार्यक्रम समेत हुने गर्छ ।
नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा पर्ने झापाको केचनादेखि झण्डै २८ सय मीटर उचाइको जुम्लासम्म धान खेती हुन्छ । तर कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ ।
असार १५ भन्नेबित्तिकै दहि चिउरा खाने दिन भन्ने सम्झना आउँछ । पछिल्ला वर्षहरुमा असार १५ मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरुमा विकास भइरहेको छ । यही भएर शहर बजारमा समेत दही चिउराको जोहो गरेर खाने गरिन्छ ।
थुप्रै कवि, साहित्यकारले पनि असारलाई आफ्ना कविता र काव्यमा उतारेका छन्। संस्कृतका, महाकवि कालिदासले त ‘आषाढस्य प्रथम दिवसे’ भनेर नै मेघदूतमा आफ्नो भाव रोचक रूपमा प्रस्तुत गर्ने सुरू गरेका थिए। महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल लगायतले पनि विभिन्न कोणबाट असारलाई विश्लेषण गरेका छन्। असारे गीतका अन्य टुक्काहरु यस्ता भेटिन्छन–
असारे मासको दबदबे हिलो छि मलाई घिनलाग्यो।
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो।
यो गीत सबैतिर गाइन्छ तर पश्चिमको गुल्मी पाल्पा क्षेत्रमा बढी प्रचलित रोपाई गीत हो यो । गीत पनि क्षेत्र र स्थान अनुसार फरकफरक भाका र शैलीमा गाउने चलन छ । असारे गीत लेग्रो तानेर गाइन्छ। गीतको पहिलो फाँकी झिके पछि बीचमा अनुप्रासका टुक्का मिलाई अनि मात्र अन्तिम टुप्पो वा फाँकी भन्ने गरिन्छ।महिलाहरुले गाउँने असारे गीतमा पुरुष ठेगारहरुले लय छोप्छन्।
पूर्वी नेपालमा यस्तो गीत गाइन्छ–
रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ ।
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ ।
यस्तै कर्णाली क्षेत्रमा असारे गितलाई स्थानिय भाषामा “अवाली” भनिन्छ। कर्णाली क्षेत्रको असारे गीत यस्तो हुन्छ–
कठै-छुपु छुपु रोपी ल्याऔँ सिउँती सेरा अ
बडिमाईका थान चढेइ मोती मेराइ अ
कठै-बाट डिलबाट भिता काट्यो तरिस
बाँची रहे हली बाउसे लाखै बरिष
काठमाडौँ उपत्यका भने यस्तो गीत गाउने प्रचलन छ–
असारलाई भनी कुटेको च्युरा म कति साँचूला,
सौताका हात दुइ कुड्की भात म कति बाँचूला
खोल्सा र खोल्सी बाढी है आयो बर्षाको बेलैमा
कांधमा हलो हातमा जुवा लागी हुन मेलैमा
मै पनि जान्थें हल गोरु साउनु बेंसीको खैतैमा
लैबरी भाखा गाएको सुन्थें डाँडा र पाखैमा
धानको बिउ हातमा लिइ रोप्दी हुन छुपु छुपु
आलीमा बसी गहुँको रोटी खादी हुन् कुपु कुपु