– बिजय ज्ञवाली–
असारमासको दबदबे हिलो छि: मलाई घिन लायो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लायो ।
अबेला भयो चरेसको थाल माजु कि नमाजू
मुखिया बाको रोपाइँको उर्दी जाऊँ हिंड अमाजू ।
हलीया दाइले बाँधेको गोरु ढाबरे किलैमा
आलीमा बसी के डिठ्ठा बन्छाै झर्दैनाै हिलैमा ।
गैरी खेत बेची विदेश छोरो बुहारी शहरमा
म बूढीको काल काँ गो नि बरै बाँच्दैछु कहरमा ।
टारीको खेत चल्दैन कुलो आज के गर्ने हो
चर्केका घाम बादलु छैन माथि भर पर्ने हो ।
फुकेको ज्यान मुखिया बा को सुहाउने जुवारी
भरे त मेलो देखाउन पर्ला चाँडो गर बुवारी ।
असारलाई भनी कुटेका चामल जेठैमा घुन लाए
घाम छँदै घर जाम्ला पो भन्थें मेलैमा जून लाए ।
लोक उस्तै भाका उस्तै, अझ हिलाम्य खेत र त्यो झरझर झरना उस्तै। विम्व उस्तै सम्झना उस्तै। मात्र फरक मान्छेको जिवनशैली। तर पनि फेरि खेतका हली, बाउंसे र खेतारी उस्तै। मात्र फरक त बाटो, यो असामयिक समय।
अंघिल्लो दिन पटक्कै निद्रा लाग्दैनथ्यो किनकी भोलि रोपाईं शुरु हुने दिन, मकै भांचेर डांठ बोकेर लखतरान परेको जिऊ ले राती १० बजेसम्म आली भित्ता गरेर सक्नुपर्दथ्यो। किनकी भोलि रोपाईं शुरु हुने दिन। पानीको उस्तै समस्या। लगभग ढाई किलोमीटर कुलोमध्ये सवा किलोमिटर कुलो त भगवान भरोसामा थियो। बर्षाको कुलो एक पाईलो खुट्टा चिप्लिए जीवन २९० मिटर तल खोलामा बजृन पुग्थ्यो। त्यसैमाथी माथीवाट बडेमानको पहरो, तल बल्लतल्ल बनाएको खोंचें डुंड र त्यहिं तलवाट पाइलो अट्ने सानो गोरेटो त्यहिंपनि माथी डुंडवाट पानी झरेर जमिनै गिलो बनेको। त्यस्ता कन्धरा पार गरेर जेनतेन पानी ल्यायो खेतसम्म, त्यहिंपनि बिचमा अर्कैले कुलो भांचिदिएर हैरान पार्ने।
यस्तैमा एकदिन छिमेकिका सवै धान रोपेका खेत भकाभक खनेर पानी सवै आफ्ना खेतमा झारेको हुनाले गाउँमा कचहरी बसेको सम्झना पनि छ। अन्त्यमा तिनै खेतवालाले माफी मागेका थिए।
प्रसंग फेरी रोपाइंकै,
अर्को दिन बिहानै ६ नबज्दै उठ्यो, आमाहरुले गोठमा आगो बालिसक्नुभाको हुन्थ्यो। एकदूईवटा छिप्पिएका मकै भुंग्रोमा पोल्यो, अलिकती नुन पिस्यो अनि मकै कोपर्दै नुन चाट्दै गोरु `घंस्याउन´गयो। ८ बजेसम्म गोरुलाई खेतमा ल्याईसकेपछी पानीको जोहोतिर लाग्नुपर्ने। डेढ किलोमिटरवाट उताको पानी मगर समुदायको वाहुल्य भएका वस्तीका खेतमा लाग्दथ्यो। बिहानै उठेर उनिहरु खेतमा पानी लगाए, घांसको भारी पुर्याए अनि ८ बजेतिर हाम्रैतिर पानी फर्काईदिन्थे। किनकी हाम्रोभन्दा पहिला उनिहरुको रोपाईं हुन्थ्यो। किनकी उनिहरुको खेत काउले खोलानजिक थियो। यसरी उनिहरुले पानी फर्काईदिए या फर्काईदिएनन भनेर हेर्नको लागि घरवाटै प्रष्ट देखिने `भिर´भन्ने ठाउँ थियो। यदि पानी फर्काईदिएको भए त्यो डेढ किलोमिटर पर भिरमा प्रष्टै पानी झरेको देखिन्थ्यो। नत्र लिनै जानुपर्दथ्यो त्यो कठिन बाटो झरिमा रुझ्दै र लड्दै। तर प्रायश: उतापट्टिकाले पानी फर्काईदिएका हुन्थे। कहिलेकाहिं भने आपत नै पर्दथ्यो।
यसरी खेतमा पानी भिड्क्याईसकेपछी हली, ठेंगारे, रोपाहार सवै जम्मा भैसकेका हुन्थे खेतमा दशबजेसम्म।खेतारी बिऊ गोड्नतिर लाग्दथे भने ठेंगार आलिभित्तातिर। हलीको काम जोत्ने भैहाल्यो। हामी सानै हुनाले कहिले हलिको खोक र हलो समाउने त कहिले आली लगाउने काम गर्दथ्यौं। `अर्नी´ हाम्रो भाषामा, वास्तव अर्थ खाजा या नास्ता। घ्यू हालेर बनाएको, मीठो तरकारी र अचारको स्वादमा रमेर खान पाउँदा कुनै चाडपर्व आएभन्दा बढ्ता हुन्थेन। रोपाईंको अन्तिम दिन पुलाव अर्थात चामल भिजाईकन झांतोमा पिसेर निस्किएको मसिनो पिठोलाई घ्यूमा भुटेर केराको अचारसंग पस्किन्थ्यो। औधी मीठो लाग्दथ्यो। यसरी रोपाईंको कर्मकाण्ड सकिन्थ्यो हाम्रोतिर। तपाईंको तिर कसरी मनाउनुहुन्थ्यो असार पन्ध्र या रोपाईं समयावधि?
मानो रोपेर मुरी उब्जाउने यो पर्व सांच्चिकै मनमोहक, महत्वपूर्ण अविष्मरणिय छ। तर आजकल पहाडतिरका यिनै उर्वर भूमी बांझिदै गएका छन भने तराईतिर खेतियोग्य जमिन कंक्रीटमा बदलिराखेका छन। चेतनास्तर न नागरिकमा मौलाएको छ न नै सरोकारवाला निकाय सकृय छ यस्ता कार्यहरुको निगरानी र आवश्यक पहलकदमी लिन। त्यसैले त बर्सेनि ३३ अर्वभन्दा बढिको चामल आयात हुन्छ कृषिप्रधान देशमा।
देश आफै बन्दैन, हामिले नै बनाउनुपर्दछ। यसको लागि आवश्यक छ आफ्नै स्वावलम्वन। आफ्ना पाखापखेरा र खेतियोग्य जमिन बंझाएर तराईमा आयातित चामल खांदै देशलाई श्राप्नेहरुलाई त्यहिं बांझो जमिनले धिक्कार्नेछ, सन्ततीले वचन लगाउनेछन। त्यसैले आफ्ना पाखापखेरा, खेतियोग्य जमिनको सदुपयोग गरौं। प्रकृतिसंग रमाऔं, स्वस्थ रहौं, दिर्घायू बनौं, वातावरण संरक्षण एवं देश विकाशमा मेरुदण्ड बनौं, जय आषाढ १५।
बम्घा-३,गुल्मी।