पुराना घरका लागि वडामैं नक्सा पास अभियान

 

तिलोत्तमा, साउन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पास सम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सा पास अभियान सञ्चालन गरेको हो ।वडा नं. १४ बाट सुरु गरिएको यो अभियान सबै वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरबासीको सुविधाका लागि पुराना घरको नक्सा पास सम्बन्धी सेवा अभियान सञ्चालन अवधिभर वडा कार्यालयबाटैं प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै ५ हजार घरहरु रहेको बताइन्छ । प्रक्रियामा रहेका यिनै घरहरुको नक्सा पास सम्बन्धी कार्य वडा कार्यालयबाट हुने भएको हो । नगरपालिकाले २०७० सालभन्दा अघि बनेका घरहरुको नक्सा पासका लागि गत चैत महिनासम्म छुट सुविधा दिएको थियो ।नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विगतमा घर बनाए पनि नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका तर प्रक्रियामा रहेका नगरबासीहरु लाभान्वित हुनेछन् । नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिएर सुरु गर्नुभएको यो अभियान वडा नं. १३ मा लगत्तै सञ्चालन हुनेछ ।

नगर प्रवक्ता सुरेन्द्र श्रीकाअनुसार बिहीबार र शुक्रबार बाहेक अन्य दिनमा नगरपालिकाको प्राविधिक टोलीले अभियान नसकिँदा सम्म सम्बन्धित वडामा नैं रहेर सेवा प्रवाह गर्नेछ ।

१४ नम्वर वडा अध्यक्ष सोहनप्रसाद थारुले घर नक्साको काम वडाबाट हुँदा सेवाग्राहीलाई धेरै राहत मिलेको बताउनुभयो । ईञ्जिनियर मनिष खनालले यो अभियानबाट प्रक्रियामा रहेका झण्डै ८० प्रतिशत घरको नक्सा पास सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.