मुटु अस्पताल बुटवलद्धारा संचालित सिटीस्क्यान सेवाको उद्घाटन

बुटवल, कार्तिक ११ प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रयाप्त कानुनको अभावमा प्रदेश सरकार सक्रिय बन्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश सरकार पहिलो पटक र सबैभन्दा पछि गठन भएको कारण सरकार संचालनको अनुभव समेत नयां भएकोले यसलाई सक्रिय बनाउन स्थानीय र केन्द्र सरकारको सहयोग आवश्यक रहेको बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलद्धारा संचालित सिटीस्क्यान सेवाको उद्घाटन गर्दै प्रदेश प्रमुख झाले प्रदेश सरकारका अझैपनि कतिपय कानुनहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले कानुन निर्माण र विकास निर्माणका काममा केन्द्र, प्रदेश र स्थानीय तहको एकआपसको सहयोग र समन्वय भएमात्र तिनैतह बलिया बन्न सक्ने बताए । प्रदेश प्रमुख झा ले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले काठमाण्डौं बाहिर सबैभन्दा बढि क्षमताको १ सय २८ सलाईसको आधुनिक सिटीस्क्यान मेशिन भित्राएर यसक्षेत्रको स्वास्थ्य क्षेत्रमा नयां आयाम थपेको उल्लेख गरे । उनले सरकारको एकल प्रयासले मात्र सबै क्षेत्रका कामहरु गर्न सम्भव नभएको भन्दै सामुदायिक क्षेत्रबाट अस्पतालमा गरेको सहयोग र लगानी प्रति प्रशंसा व्यक्त गरे । कार्यक्रममा रोटरी ईन्टरनेशनल डाईरेक्टर ईलेक्ट डा. भरत पाण्ड्याले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले हरेक वर्ष विभिन्न उपकरण तथा सेवाहरु थप गर्दै लगेको उल्लेख गर्दै सिटीस्क्यान पछि एमआरआई सेवामा पनि सहयोग जुट्नेमा विश्वास व्यक्त गरे । अस्पतालका अध्यक्ष एजाज आलमले जग्गाको अभावमा चारवटा घर भाडामा लिएर सेवा संचालन गर्नुपर्ने बाध्यता रहेकोले अस्पतालले प्रस्ताव गरेको जग्गाप्राप्ति हुन सके एकवर्ष भित्रै आफ्नै भवन निर्माण गर्ने योजना रहेको बताए । अस्पतालले सरकारसंग बुटवल १० रामनगरमा रहेको सामुदायिक वनको जग्गा प्रस्ताव गरेको छ । अस्पतालका निर्देशक डा. समिर गौतमले अस्पताल स्थापनाको पांचवर्षको अवधीमा अस्पतालले काठमाण्डौ बाहिर पांचवटा किर्तिमान कायम गर्न सफल भएको बताए । काठमाण्डौं भन्दा बाहिर सबैभन्दा ठूलो डायलाईसिस युनिट, नन ईन्भेन्सिभ भेन्टिलेटर, क्याथल्याब, भिभिडी ९५ ईको मेशिन र १ सय २८ सलाईसको सिटीस्क्यान सेवा संचालन हुने मुटु अस्पताल काठमाण्डौ बाहिरको पहिलो अस्पताल भएको उनले दावी गरे । झण्डै सातकरोड रुपैयाको लगानीमा संचालन भएको सिटीस्क्यान सेवामा रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहकार्य रहेको छ । अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता, सचिव दिनेशराज रेग्मीको संचालन तथा उपाध्यक्ष रामप्रसाद बस्यालको धन्यवादमा सम्पन्न भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु विष्णु पन्थी, दधिराम न्यौपाने, रोटरी डिष्ट्रिक गभर्नर चिन्तामणी भट्टराई निवर्तमान गभर्नर सञ्जय गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, नेकपाका निर्मल जिसी, नेपाली कांग्रेसका खेलराज पाण्डे, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष बाबुराम बोहोरा, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिनेश पाण्डे, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष टंक प्रसाद पोखरेल, रोटरी सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अस्पतालमा संचालनमा आएको सिटी स्क्यान मेशिनले सिटिए कोरोनरी स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा. अजिज उल्लाहले जानकारी दिए । उनले मुटुसंग जोडिएका नशाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने र १ सय २८ सलाईसको मेशिनबाट करीब तीन सेकेण्डमै इमेज लिन सकिने बताए । यो मेशिनबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुंडा, पेट लगायत शरीरका विभिन्न अंगहरुको सिटी स्क्यान गर्न मिल्ने बताईएको छ । यहां जडान गरिएको मेशिन यसक्षेत्रकै सबैभन्दा धेरै सलाईस भएपनि यसको शुल्क देशका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा भन्दा कम तय गरिएको अस्पतालले जनाएको छ । २०७० सालदेखि पुष १० गतेदेखि सेवा शुभारम्भ रहेको यस अस्पतालमा रुपन्देही संगै गुल्मी, अर्घाखांची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बांके, बर्दिया, रोल्पा, रुकुम लगायत जिल्लाबाट सेवाग्राही आउंछन् । अस्पताललाई जग्गा दिलाउने तिलोत्तमा नगरप्रमुखको उद्घोष तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालाई सरकारले बुटवलमा जग्गा उपलब्ध गराउन नसके तिलोत्तमा नगरपालिकाले उपलब्ध गराउने बताएका छन् । अस्पतालको सिटीस्क्यान सेवा शुभारम्भको अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले अस्पतालले लामो समयदेखि सरकारसंग जग्गाको लागि पहल गरेपनि हालसम्म उपलब्ध नभएको उल्लेख नगरपालिकाले जग्गा उपलब्ध गराउन तयार रहेको बताए । उनले बुटवल जस्तो केन्द्रभागमा रहेर हज्जारौं विरामीलाई सेवा दिईरहेको सामुदायिक अस्पतालको विकास गर्नु सबैको दायित्व रहेकोले बुटवलमा जग्गा उपलब्ध नभए तिलोत्तमा नगरपालिकाले जग्गा दिएर लैजान तत्पर रहेको बताए । सरकार, स्थानीय राजनितिक दल र बुटवल उपमहानगरपालिकालाई समेत छिटोभन्दा छिटो जग्गा उपलब्ध गराउन नसके मुटु अस्पताल बुटवल भन्दा बाहिर लैजाने चुनौती दिएका हुन्

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.