तिलोत्तमाका जनप्रतिनिधि र कोरियाली राजदुतबीच छलफल

तिलोत्तमा, कार्तिक २६ । तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्क योङ्ग सीकबीच सोमबार मणिग्राममा छलफल भएको छ । नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा नगरपालिका र राजदुतबीच छलफल भएको हो ।
छलफलमा नगर प्रमुख बासुदेव घिमिरे, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरु, कोरियाली दुतावासका शिव पोख्रेल, अङ्कुर नेपालका गम्भिर गुरुङको सहभागिता रहेको थियो ।
त्यसअवसरमा नगर प्रमुख घिमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि सुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाहरुका बारेमा राजदुत सीकलाई जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारको तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदुत सीकलाई आग्रह गर्नुभयो ।
नगर प्रमुख घिमिरेले नेपालमा पुनः मिल्क होलिडे सुरु हुँदा किसानहरु मर्कामा परेको उल्लेख गर्दै दुधको बजारीकरणका लागि नगरपालिकाले थ्रीपी मोडलमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न खोजेको बताउँदै यसमा सघाउन राजदुत सीकमार्फत् कोरिया सरकारलाई आग्रह गर्नुभयो ।
प्राविधिक शिक्षालय, क्षेत्रीय स्तरको बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्राउने वातावरण निर्माणमा सजहीकरण गर्न समेत राजदुत सीकलाई नगर प्रमुख घिमिरेले आग्रह गर्नुभयो ।
कार्यक्रममा राजदुत सीकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर संभावना रहेको उल्लेख गर्नुभयो । दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदुत सीकले योजनाहरुको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गनुभयो । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै राजदुत सीकले यस नगरपालिकालाई हरित नगर भएको आफूले देख्न चाहेको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.