पुल तथा सडक निश्चित समयमा पूरानगर्ने ठेकेदार लाई कालोसूचीमा सिफारिश गर्न मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री शंकर पोखरेलले निर्माणाधिन पुल तथा सडक निश्चित समय सीमामा पूरा गर्ने प्रतिबद्धतासहित काम नगर्ने ठेकेदार कम्पनीलाई ठेक्का तोडेर कालोसूचीका लागि सिफारिश गर्न निर्देशन दिनुभएको छ । लामो समयदेखि सुस्त काम भइरहेका घोराही—तुलसीपुर खण्डका आधादर्जन पुलको स्थलगत निरीक्षणपछि डिभिजन सडक कार्यालय दाङका अधिकारीहरुलाई सुस्त निर्माणको कामलाई गति दिन सक्रिय हुन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पोखरेलसहितको निरीक्षणमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनशयाम पाण्डे, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारी र पत्रकारको टोली सहभागी थियो । बबई खोला, सिस्नेखोला, कटुवाखोला, गुज्रेखोला, पत्रेखोला, संक्राम खोला, ग्वारखोला लगाएतका ठाउँमा निर्माणाधिन अबस्थाका पुल र घोराही तथा तुलसीपुर बजारमा विस्तार भैरहेको सडकको अबस्थाका बारेमा जानकारी लिदै मुख्यमन्त्रीले सुस्त निर्माणले लक्षित उपलब्धी हासिल गर्न नसक्ने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले अबको तीन महिना भित्र घोराही र तुलसीपुर बजारका बिस्तारित सडकहरु निर्माण गरिसक्ने गरी काममा निगरानी बढाउन निर्देशन दिनुभयो । उहाले पेटी ठेकेदार मार्फत काम नगर्न र टुक्रे योजनामा फरक फरक ठेक्का लगाउने काम रोक्न सडक कार्यालयलाई निर्देशन दिनुभएको छ । उहाले जसरी भए पनि गुणस्तरीय काम हुनुपर्ने र आगामी वर्षायाम अगावै पुल तथा सडक सञ्चालनमा ल्याउन सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.