स्थापना दिवसका अवसरमा सरसफाई महाभियान मुख्यमन्त्रीसहित हजारौंको सहभागिता

 

बुटवल, फागुन २ । प्रदेश स्थापना दिवस र बुटवल उपमहानगरपालिकाको हिरक दिवसको अवसरमा बुटवलमा आयोजित संयुक्त सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलसहित हजारौंको सहभागिता रह्यो ।
जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक अगुवासहित हजारौंको संख्यामा यस क्षेत्रको मुख्य राजमार्गको विशेष सरसफाई गरिएको छ । राजमार्ग क्षेत्रमा नवलपरासी पश्चिमको बर्दघाट देखि कर्णाली पुलसम्मका विभिन्न क्षेत्रमा बिहीबार एकै साथ सरसफाई कार्यक्रम भएको थियो ।
बुटवलमा भने मुख्यमन्त्रीसहित प्रदेश सरकारका अधिकारीहरु, सांसदहरु, जनप्रतिनिधिसहित हजारौंको सहभागितामा सरसफाई महाअभियान सञ्चालन भएको हो ।
सधैंजसो कोट पाइन्ट र दौरा सुरूवालमा ठाटिएर बिहानैदेखि औपचारिक कार्यक्रमहरूमा व्यस्त हुने मुख्यमन्त्री पोखरेल बिहिबार बिहान फरक भेषमा देखिएपछि धेरैले उत्सुकता पनि प्रदर्शन गरेका थिए ।
निलो ट्रयाकसुट, स्पोर्टस् जुत्ता र ढाका टोपीमा बिहानै सात बजे बुटवल वडा नं. २ को पाखापानी मनकामना मन्दिर क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पोखरेलले हातमा पञ्जा र मुखमा मास्क लगाएर सडक सरसफाईमा जुट्नु भएको थियो ।
यस्तै प्रदेश सरकार र बुटवल उपमहानगरको संयुक्त आयोजनामा विहीबारै बुटवल अन्तर्गतका सडक खण्डमा विशेष सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेल सहित बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहित विभिन्न वडाका जनप्रतिनिधिहरु र सुरक्षाकर्मीलगायत नागरिक समाजको सहभागितामा विशेष सरसफाई कार्यक्रम भएको हो ।
सामान्यतया विभिन्न अभियानको क्रममा सञ्चालन गरिने सरसफाइ तथा अन्य कार्यक्रमको औपचारिक सुरूआतमात्र गरी भाषण गरेर फर्किने गरेकोमा मुख्यमन्त्री पोखरेल सरसफाइ अवधिभर पूरै खटिनुभएको थियो ।
सडक किनार, ढिक तथा कान्लामा जहाँ धेरै फोहोर थुप्रिएको देखिन्थ्यो मुख्यमन्त्री पोखरेल आफैं पुगेर फोहोर उठाएर डोकोमा राख्नुभएको थियो । उहाँसंगै बुटवलका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य तथा वडा अध्यक्षहरु हुनुहुन्थ्यो ।
सरसफाइ अभियानको थालनी गर्दै मुख्यमन्त्री पोखरेलले बजार क्षेत्र सफा भए पनि राजमार्ग भने दुर्ग्न्धित हुने गरेको भन्दै अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाइ अभियानमा जुट्न पनि आग्रह गर्नुभयो ।
राजमार्ग र वन क्षेत्रमा जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिका कारण सडक फोहोर थुपार्ने थलो भएको भन्दै मुख्यमन्त्रीले भन्नुभयो, ‘घर सफा राखेर मात्रै हुन्न,बाटो र खोल्सामा फोहोर नफालौं । जहाँ फोहर देखिन्छ त्यो टिपेर उपयुक्त स्थानमा विसर्जन गरौं ।’
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेश सरकारसंग मिलेर उपमहानगरपालिकालाई सुन्दर सफा र हरीयाली बनाउने महाअभियान जारी रहेको बताउनुभयो । उहाँले बुटवलमा हरेक शनिबार तिनाउ(बुटवल सरसफाई अभियान जारी रहेको र यो झण्डै ५० औं श्रृंखलामा पुग्न आँटेको बताउनुभयो ।
सफाइ अभियानमा मुख्यमन्त्रीसँगै बुटवलका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीयवासी समेत खटिँदा माहौल नै महाभियानमय भएको नयाँगाउँकी अगुवा सावित्रा रेग्मीले बताउनुभयो ।
गत वर्ष फागुन ३ गते गठन भएको प्रदेश ५ सरकार र २०१६ साल फागुन ३ गते नै स्थापना भएको बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका छन् । सोही अनुसार राजमार्ग सरसफाइ गरी स्थापना दिवसको शुभारम्भ गरिएको हो ।
बुटवलमा मुख्यमन्त्री पोखरेलले अगुवाइ गरेजस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोहलपुर चोक बाँकेबाट सरसफाइ अभियानको नेतृत्व गर्नुभएको थियो ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तुबाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भुरिगाउँ बर्दियाबाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल लमहीचोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाटचोक नवलपरासीबाट सरसफाइ अभियानमा सहभागी भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशका सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैलाई बिहिबारदेखि शनिबार साँझ दिपावली गरी स्थापना दिवस मनाउन प्रदेश सरकारले आग्रह गरेको छ । यसअघिको मन्त्रिपरिषद्को बैठकले फागुन ३ गते प्रदेश नं. ५ का १२ जिल्लामा सार्वजनिक बिदा भने दिइसकेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.