तिलोत्तमामा महिला दिवसमा श्रमिक महिला सम्मानित

 

 

लैंगिकमैत्री कार्ययोजना मस्यौदा सार्वजनिक

तिलोत्तमा, फागुन २४ । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले विभिन्न क्षेत्रमा काम गर्ने पाँच जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको नगरपालिकाले शुक्रबार मूल समारोहमा श्रमिक महिलाहरुलाई नगदसहित प्रशंसापत्रबाट सम्मान गरेको हो ।

श्रम गर्नेहरुलाई प्रोत्साहन तथा उनीलाई सम्मान गर्नुपर्ने संस्कारको विकासका लागि श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । यसरी सम्मानित हुनेहरुमा मनिषा पन्थ, दुर्गा शाही, मनकुमारी बेसारा, सुमित्रा तिवारी, निर्मला थारु रहनुभएको छ ।

सोही अवसरमा तिलोत्तमालाई लैंगिकमैत्री नगरपालिका बनाउन निर्माण गरिएको कार्ययोजनाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिएको छ । मस्यौदामा लैंगिकमैत्री नगरपालिका बनाउन विभिन्न योजना तथा ती योजना कार्यान्वयन गर्न अपनाइने विधिहरु प्रस्तुत गरिएको छ । मस्यौदालाई थप छलफल तथा विभिन्न क्षेत्रबाट प्राप्त हुने सल्लाह र सुझावका आधारमा अन्तिम रुप दिइने नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले श्रमको सम्मान सबैले गर्नुपर्ने बताउँदै महिलाले पुरुष सरह समान कामको समान ज्याला पाउने अधिकारलाई नगरपालिकामा कडाइका साथ पालना गराइने बताउनुभयो । लैंगिक समानताको अभियान घरपरिवारबाट सुरु गरिनुपर्नेमा जोड दिँदै उहाँले लैंगिकमैत्री समाज निर्माणका लागि नगरपालिकाले आफ्ना गतिविधि अगाडि बढाउने जानकारी दिनुभयो ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले लैंगिकमैत्री समाज निर्माणका लागि पितृसत्तात्मक सोंच त्याग्नु पर्नेमा जोड दिँदै पुराना सांस्कृतिक मूल्यमान्यतालाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले विद्यमान सामाजिक संरचनाको अन्त्य नगरेसम्म लैंगिक विभेद नहट्ने भएकाले सोंच र व्यवहारसँगै सामाजिक चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी तथा नेतृ मनोरमा शेरचनले महिला पुरुष समान भएर महिला अधिकार स्थापित गराउनुपर्ने र त्यस्तो अभियान प्रत्येक घरबाट सुरु गर्नुपर्ने बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर नबनाएसम्म समानता कायम हुन नसक्ने उल्लेख गर्दै उहाँले घरमा हुने काममा पुरुषले महिलालाई सघाउनुपर्ने बताउनुभयो ।

अधिकारकर्मी मिनाक्षी न्यौपानेले महिलाहरु आर्थिक रुपमा सक्षम नबन्दासम्म विभेद नहट्ने बताउँदै लैंगिक समानताको लागि समान सोंच र व्यवहार हुनुपर्ने उल्लेख गर्नुभयो । नगर उपप्रमुख चौधरीको अध्यक्षता, कार्यपालिका सदस्य राधा शाहीको स्वागत, पत्रकार ईन्दिरा अर्यालको सञ्चालन तथा महिला विकास अधिकृत भगवती अर्यालको धन्यवादमा कार्यक्रम भएको हो ।

सोही अवसरमा नगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पुस्कृत गरिएको थियो । प्रतियोगितामा तारा अर्याल प्रथम, रुमा पौडेल द्धितीय, गोपी पाण्डेय तृतीय, मिना भण्डारी र गोमा गैरे सावन्तना हुनुभएको थियो । कार्यक्रममा पुरस्कृत हुने तथा सम्मानित हुनेहरुले आफ्ना अनुभव र भोगाईहरु प्रस्तुत गर्नुभएको थिया

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.