तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु ,सबैको सहकार्यमा दमकल सेवालाई प्रभावकारी बनाइने 

तिलोत्तमा, चैत २२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दमकल सेवा सुरु भएको छ । सेवाको शुक्रबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले शुभारम्भ गर्नुभयो । ३५ सय लिटर क्षमताको दमकलले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्याक्न सक्ने बताइएको छ ।
प्रारम्भिक चरणमा नगरपालिकामा कायम जनशक्तिबाट दमकल सेवा सुरु गरिने र आगामी दिनमा थप जनशक्तिको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । दमकल सञ्चालनका लागि स्थानीय प्रहरी प्रशासनसँग समेत सहकार्य गरिने नगरपालिकाको भनाइ छ ।
तिलोत्तमा नगरपालिका स्थापना भएसँगै दमकल खरिद गर्न खोजिएकोमा विभिन्न कारणले सफल हुन नसकेकोमा यो वर्ष आगलागीका घटना हुने मुख्य जोखिमको समयमा नगरपालिकामा दमकल आएको हो ।
शुभारम्भ कार्यक्रममा नगर प्रमुख घिमिरेले नगरपालिकाले दिनुपर्ने एउटा अत्यावश्यक सेवा सुरु भएको बताउँदै सरोकारवाला सबैको सहकार्यमा दमकल सेवालाई प्रभावकारी बनाइने बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले दमकल सेवाका लागि आवश्यक थप जनशक्तिको चाँडै नै व्यवस्थापन गरिने बताउनुभयो ।
नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले दमकल सेवाले नगरबासीलाई खुशी बनाएको बताउँदै यसको जानकारी गाउँ–गाउँसम्म पुर्याइनुपर्नेमा जोड दिनुभयो । तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले नगरपालिकामा दमकल सेवा सुरुसँगै व्यवसायीहरु समेत उत्साहित भएको बताउनुभयो । कार्यक्रम प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.