आज जितगढी विजय उत्सव –आज प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्डसहितको विशिष्ट टोली बुटवलमा

बुटवल, वैशाख ७ । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उप–महानगरपालिकाले आज जितगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदा स्थल किल्ला परिसरमा दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ ।
दुई सय चार वर्षअघि विसं. १८७१÷७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको दिन हो । यसपटक पर्सि दोस्रो विजयोत्सवको दिन जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाले जितगढीको गुरुयोजनासमेत बनाइरहेको उनले बताए ।
आज विहान जितगढीमा आयोजना गरिएको विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जितगढीमा बुटवल उपमहानगरले निर्माण गरेको कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक अनावरण र झण्डोत्तोलन गर्ने कार्यक्रम छ ।
विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेसका सचेतक बालकृष्ण खाँडलगायतका शीर्ष नेता बुटवल आउने कार्यक्रम रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
दिवसका अवसरमा तत्कालीन युद्धको प्रहशन गर्ने तयारीसमेत भइरहेको छ । त्यसका लागि विशेष मञ्च, प्रहसन स्थल निर्माण, स्वागतद्वार निर्माण सरसफाइलगायतका काम भइरहेका छन् । सरायँको प्रदर्शन र युद्ध कौशलताका लागि सेनाको विशेष टोली तयार भइसकेको छ ।

विहान सरसफाई र विजय ¥याली
विजय उत्सवको अवसरमा आज बिहान सरसफाई कार्यक्रम हुने छ भने विहान ८ बजे नै उप–महानगरपालिकाबाट विजय ¥याली निकालिने छ । ¥यालीमा विशेष पहिचान र संस्कृति झल्किने गरि तयारी गरिएको संयोजक तेजप्रसाद विश्वकर्माले जानकारी दिए । उक्त विजय ¥याली बिहान १० बजे नै किल्ला परिसरमा पुग्नेगरी समय तालिका तय भएको छ ।
ऐतिहासिक सम्पदा हो जितगढी
बुटवल उप–महानगरपालिका वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१ (७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो । बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङको निर्देशन,मेजर जर्नल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको आधुनिक हतियारले सुसज्जित अंग्रेज फौज सँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी ।
वि.स. १८७२ बैशाख ७ गते युद्धमा विजय हासिल भएको खुसीयालिमा कृष्ण जन्माष्टमीको भोलिपल्ट रणउजेश्वरी भगवती जात्राको रुपमा पाल्पामा विजय उत्सव मनाइएको र सोही परम्परा बमोजिम बुटवलमा विजय हासिल गरेकै दिन वैशाख ७ मा विजय दिवस मनाउने गरिएको छ । बुटवल उपमहानगरपालिकाको गत वर्ष चैतमा बसेको कार्यपालिका बैठकले बैशाख ७ गतेको दिनलाई विजय उत्सव दिवसका रुपमा मनाउने निर्णय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
ऐतिहासिक सम्पदा स्थललाई संरक्षण र संवद्र्धन गर्न गुरुयोजना बनाइएको छ । संग्रहालय, पार्क, स्मारकहरु, तिनाउ किनारमा रात्रिकालीन बजार, पुरानो बुटवललाई पुरातात्विक सहरका रुपमा विकास गर्दै तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर बुद्धबलीको पर्यटकीय सर्किट बनाउने उपमहानगरको योजना छ । प्रस्तावित गुरुयोजनाअनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा संरचना निर्माणलगायतका कामहरु छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.