सिद्धबाबामा ढुंगे पहिरो खस्दा एकजनाको मृत्यु


बुटवल, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा पहिरो झर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको मित्याल गाउंपालिका वडा नंं. ९ का ३२ वर्षिय धनबहादुर सुनारीमगर रहेका छन् । लु ५० प.४६७१ नंंको मोटरसाइकलमा बुटवलबाट घरतर्फ जांदै गर्दा पाल्पाको तिनाउ गाउपालिका वडा नंं ३ हेडबक्स नजिकै ढुंगेपहिरो झरेपछि सुनारी मोटरसाइकलसहित सडकबाट करिब ३ सय मिटर तल उछिट्टिएका थिए । दिउंसो करिब ३ बजेतिर पहिरो झरेको थियो । तिनाउ नदी किनारमा ढुंगाले च्यापिएको अवस्थामा रहेको सुनारीको शबलाई प्रहरी र सेनाको टोलीले सांझ ५ बजे निकालेको थियो । ढुंगे पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड सांझ अबेरसम्म पूर्णरुपमा अवरुद्ध रहेको छ । यो सडक खण्डमा बितेको १० वर्षमा पहिरो र दुर्घटनामा परेर ७० जना भन्दा बढीको ज्यान गइसकेको छ । यो सडक खण्डमा संघीय सरकारले सुरुङ मार्ग बनाउने भनेको छ भने प्रदेश सरकारले ढुंगे पहाडलाई काटेर फारकिलो सडक बनाउने भनेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.