तिलोत्तमामा गर्भवती र बालबालिकालाई पौष्टिक आहार वितरण

 

 

तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण सुरु गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का  २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले जानकारी दिनुभयो । आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो । पोषण आहारमा एक क्यारेट अण्डा, एक लिटर खानेतेल, आयोडिनयुक्त नुन, साबुन, सर्वोत्तमपिठो, बालभिटालगायत छन् । दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । पोषण आहार वितरण शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान सुरु गरिएको बताउनुभयो । यो अभियानले बालबालिकाको नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उहाँको विश्वास छ ।

यस्तै उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई तिलोत्तमा नगरपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको बताउँदै उहाँले अबका दिनमा पौष्टिक आहार वितरणलाई पनि निरन्तरता दिइने बताउनुभयो ।

 विपन्न तथा मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो । अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमार्फत सञ्चालन गरिने छ । वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष टंक टिवारी, स्वास्थ्य शाखाका गणेश गौतमलगायतले बोल्नुभएको थियाs

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.