सभामुखद्वारा पहिरो प्रभावित मसिने गाउँको अवलोकन

काठमाडौं,  साउन । सभामुख कृष्णबहादुर महराले पहिरोबाट प्रभावित चन्द्रागिरि नगरपालिका वडा नं. २ को मसिने गाउँको अवलोकन गर्नुभएको छ ।
अविरल वर्षाका कारण गत असार २७ गते राती पहिरो गई प्रभावित बनेको मसिने गाउँको आज (आइतबार) स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
पहिरो गएको ठाउँ, घरहरु र बारीको स्थलगत अवलोकनपछि सभामुख महराले तत्कालका लागि राहत र अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने र दीर्घकालीन रुपमा मसिने गाउँको पुनर्निर्माण वा बस्ती पुनःस्र्थापनातर्फ सोच्नुपर्ने बताउनुभयो ।
‘मसिने बस्ती पहिरोको ठूलो जोखिममा रहेछ, यहाँ राहत वा सहयोगले तत्कालको लागि त होला, सभामुख महराले भन्नुभयो, ‘तर, दीर्घकालीन रुपमा यो बस्ती बसोबासका लागि जोखिमपूर्ण रहेछ, राज्य तहबाटै बैकल्पिक बासस्थानका लागि पहल गर्नुपर्ने देखिन्छ ।’
अहिलेकै बस्तीमा पहिरोको जोखिमबाट बच्ने उपाय अवलम्बन गर्ने कि नयाँ ठाउँ खोजेर सुरक्षित बस्ती बसाउने भन्ने विकल्पमै पनि सोच्नुपर्ने भन्दै सभामुख महराले सरकारसँग मसिने बस्तीको समस्याका विषयमा आफूले पनि आग्रह गर्ने बताउनुभयो ।
स्थानीय सुदन तामाङले बस्तीको दुवैतर्फ पहिरो गएर थुप्रै अन्नबाली नष्ट तथा केही घरहरुसमेत भत्किएको बताउनुभयो । ८० घरजति पहिरोको उच्च जोखिममा रहेको र अहिलेसम्म कतैबाट राहत नपाएको भन्दै उहाँले राहतको आस गरेको बताउनुभयो ।
मसिनेबासी जय तामाङले पहिरोको जोखिममा रहेका मानिसहरु डाँडा वरिपरिका सुरक्षित घरहरुमा आश्रय लिइरहेको भन्दै राहतका लागि आग्रह गर्नुभयो ।
‘पानी पर्न थाल्यो भने घर छोडेर डाँडोका घरहरुमा आश्रय लिन आउनुपर्छ, तामाङले भन्नुभयो, ‘कसैको आँगनबाटै पहिरो गएको छ, कसैको घर माथिबाट पहिरो आएर आधा घर नै पुरिदिएको छ, घरमा बस्न सकिने अवस्था नै छैन ।’
वर्षाका कारण गाउँको दुवैतर्फ गएको पहिरोबाट ८० घर प्रभावित बनेको चन्द्रागिरि नपा वडा नं. २ का अध्यक्ष गोपी सुर्खेतीले बताउनुभयो । करिब २ सय घरधुरी रहेको मसिनेमा अधिकांश नेवार समुदायको बसोबास रहेको छ ।
तत्कालका लागि पहिरोको उच्च जोखिममा रहेका घरपरिवारको बासस्थान तथा राहतको व्यवस्था गर्नुपर्ने भन्दै वडा अध्यक्ष सुर्खेतीले दीर्घकालीन रुपमा बस्तीलाई कसरी जोगाउने भनेर सोच्नुपर्ने स्थिति आएको बताउनुभयो ।
भिरालो जमिनमा रहेको बस्ती भएकाले मसिने गाउँ वर्षायाममा सधैं पहिरोको जोखिममा परिरहने पूर्वसभासद तथा संविधान सभा सदस्य रुपा महर्जनले बताउनुभयो । २० वर्षअघि पनि पहिरोका कारण मसिनेमा ठूलो क्षति भएको भन्दै महर्जनले दीर्घकालीन रुपमै समस्याबाट छुटकारा पाउन के गर्न सकिन्छ भनेर मसिने बस्तीका लागि सबैले सोच्नुपर्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.