सिद्धार्थनगरद्वारा तीन विधामा अक्षयकोष

 

 

भैरहवा, साउन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बटेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख, भाषा, संस्कृति र कलातर्फ ५ लाख र पत्रकारितातर्फ ७ लाख विनियोजन गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । अक्षयकोष स्थापना गर्न नगरले अहिले सम्बन्धित क्षेत्रका विज्ञसँग सहकार्य गरेर कार्यविधि बनाइरहेको सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिए ।

खेलकुद अक्षयकोषमार्फत् नगरभित्रका पूर्व खेलाडी, वर्तमान खेलाडीहरुलाई भइपरी आउने समस्यामा सहयोग गरिने छ । ‘राष्ट्र चिनाउने खेलकुद नै हो । नगरबाट उत्पादित थुप्रै खेलाडीहरुले विभिन्न खेलमार्फत् राष्ट्रलाई चिनाउन ठूलो भूमिका खेल्नुभएको छ । यसैको सम्मानस्वरुप हामीले अक्षयकोष स्थापना गरेका हौं’, प्रमुख अधिकारीले भने । उनकाअनुसार अबको तीन वर्षमै यो अक्षयकोष बृद्धि गरी कम्तिमा ५० लाख गराइने छ ।

यस्तै, नगरपालिकाले भैरहवा क्षेत्रका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबसँग सहकार्य गरी पत्रकारिता अक्षयकोष स्थापना गर्न लागेको हो । यो अक्षयकोषबाट नगरपालिकाले वर्सेनि उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने र बाँकी रकमबाट पत्रकारहरुलाई भैपरी आउने समस्या सहयोग गरिनेछ । भाषा, संस्कृति र कला अक्षयकोष सिद्धार्थ साहित्य परिषद्सँगको सहकार्यमा स्थापना गर्न लागिएको हो । यो कोषबाट पनि भाषा, संस्कृति तथा कला साहित्यको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिनेछे । नगरपालिकाले कार्यविधि बनेपछि छुट्टै बैंक खाता खालेर अक्षयकोषको रकम जम्मा गर्ने छ र उक्त रकमको ब्याजबाट सहयोग उपलब्ध गराइने छ ।

अक्षयकोष बाहेक नगरपालिकाले आव २०७६÷०७७ मा खेलकुद क्षेत्रमा ३३ लाख बजेट विनियोजन गरेको छ । फुटबल खेलका लागि २० लाख, विभिन्न खेलकुद संचालनका लागि माछापुच्छ«े क्लबलाई १ लाख, भैरव क्लबलाई ५० हजार छुट्याएको छ । यस्तै, महिला उपमेयर कप संचालन गर्न ५ लाख, व्याडमिन्टन खेलका लागि १ लाख ५० हजार र अन्य विविध खेलकुद शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । यी खेलुकद संचालन गर्न नगरपालिकाले नगरस्तरीय खेलुकद समिति गठन गरी सोहीमार्फत् खेल संचालन गर्ने जनाएको छ । अघिल्लो दुई वर्ष मेयरकप अन्तर्गत क्रिकेट संचालन गरेको नगरले यपटक मेयरकप हटाएर महिला उपमेयर कप संचालन गर्न लागेको हो ।

यस्तै, भाषा, संस्कृति तथा कला साहित्यको संरक्षण र प्रबद्र्धन गर्न ६ लाख रुपैयाँ छुट्याएको छ । यो बजेट नगरभित्र रहेको संस्कृति, भाषाभाषी, साहित्य, कलालाई प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम बनाई खर्च गरिनेछ । ‘संस्कृति भएन भने संस्कार रहँदैन, यसले नगरको इतिहास संरक्षण गर्न मद्दत गर्छ’, उपप्रमुख काफ्लेले भनिन्, ‘त्यसैले हामीले कला, संस्कृति, भाषा, साहित्यको संरक्षणमा विशेष जोड दिएका छौं ।’ यस्तै, नगरपालिकाले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न लुम्बिनी प्रेस क्लबलाई विगत तीन वर्षदेखि प्रत्येक वर्ष २ लाखका दरले बजेट छुट्याउँदै आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा नगरपालिकाले स्थापना गरेको ५ हजार राशीको सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारलाई निरन्तर गर्ने समेत जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.