तिलोत्तमामा असोजमा लगानी सम्मेलन गर्ने २ अर्व वढी लगानि भित्राउने दावि

 

तिलोत्तमा, साउन २४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।
’आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको हो ।’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख घिमिरेले भन्नुभयो । सम्मेलनमा आयोजकसहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिने बताउँदै नगर प्रमुख घिमिरेले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउन पनि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो  । ’यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो । हामीले स्थानीय÷स्वदेशी लगानीकर्ता तथा विदेशी लगानीकर्तालाई ऋण दिने अथवा उहाँहरूसँग लगानीका लागि सहयोगी हुन सक्ने बैंक, वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई पनि सम्मेलनमा सहभागी गराउने प्रयास गरेका छौं ।’ उहाँले भन्नुभयो, ’त्यति मात्रै होइन, वित्त परिचालन, व्यवसाय सञ्चालनमा सजिलो पार्ने कुरामा परामर्श दिने तथा मुलुकलाई सहयोग गर्न तत्पर हुने संस्थाहरू पनि सम्मेलनमा सहभागी हुँदैछन् । त्यसले गर्दा मूलतः यो सम्मेलन लगानीसँग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङको साझा थलो पनि हुनेछ ।’
सम्मेलनका लागि करिव ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । सम्मेलनका लागि निजी क्षेत्रसँग सम्बद्ध संघ–संस्थासँग सहकार्य गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताउनुभयो । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया समेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाहरुका साथै भारत, चीनबाट लगानीकर्ताहरु सहभागी हुनेछन् ।

तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिका हो । साविकका सात वटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलिगढ) मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको क्षेत्र हो । यहाँ दिनहुँ चार वटा नयाँ घर थपिने गरेका छन् भने उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ । रुपन्देहीकैं मध्यभागको अवस्थिति, बीचबाट सिक्सलेन र बौद्ध परिक्रमा पथ, भारतीय सीमाबाट नजिक, नजिकैं बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, पर्याप्त खुला क्षेत्र, सडक, विद्युत्, पानीको पर्याप्तता जस्ता कारणले यहाँ लगानी तीव्रतर बढिरहेको छ ।
स्थानीय सरकारको निर्वाचनपछि यहाँ विकासका कामले थप गति लिएका छन् । लगानी सम्मेलनपछि यहाँ आउने लगानी, पुँजी र ज्ञानले नगर समृद्धिको मार्गचित्र कोर्ने भएकाले यो लगानी सम्मेलन हामी सबैको साझा प्रयास भएको प्रमुख घिमिरेले बताउनुभयो । ’यो एउटा सहकारिता, सहकार्य र सह–अस्तित्वको अभियान पनि हो । यो सम्मेलन लगानी जुटाउने आफैँमा एउटा उत्सव हो ।’ उहाँले भन्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.