आवधिक योजना र मास्टर प्लान अघि बढाउन प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री पोखरेलको,आग्रह

 

रुपन्देही, असोज ६

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका स्थानीय तहलाई आवधिक योजना र मास्टर प्लान बनाएर विकासको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
प्रदेश ५ को तेस्रो समन्वय परिषद बैठकलाई सोमबार रुपन्देहीको तिलोत्तमा मणिग्राममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय तहलाई यस्तो आग्रह गरेका हुन । उनले केहि मात्रै पालिकाहरुले आवधिक योजना र मास्टर प्लान बनाएको भन्दै योजनाबद्ध विकासले मात्रै प्रतिफल दिने बताए । ‘अझै पनि मागमा आधारित बजेट बनेको छ, योजनामा आधारित बनाउन सकेका छैनौं ’ मुख्यमन्त्री पोखरेलले भने – ‘तपाईहरु योजना बनाउन लाग्नुस् प्रदेश सरकार सहयोग गर्न तयार छ ।’ उनले स्थानीय तहलाई बजेट कार्यान्वयनलाई प्रभावकारी र सुशासन कायम गर्न समेत निर्देशन दिए । उनले गत बर्षको प्रदेश ५ सरकारको बजेट कार्यान्वयन ७ वटा प्रदेशमध्ये एक नम्बर भएपनि जनताको अपेक्षालाई भने अझै पूरा गर्न नसकेको बताए । प्रदेशको समग्र विकास र स्थानीय पालिकासँगको सहकार्यलाई बढाउनका लागि प्रदेश परिषद बैठक गरिएको हो । उक्त बैठकबारे जानकारी दिदै आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सहकार्यबाट नै समृद्ध प्रदेश बनाउने अभियानमा सामेल हुन आग्रह गरे ।
परिषद बैठकमा संघियता विज्ञ खिमलाल भट्टराईले सहकार्य, सहअस्तित्व खालको संघियता भएकाले प्रदेश, स्थानीय र संघविच समन्वय गर्नुपर्ने बताए । उनले अहिले स्थानीय र प्रदेश सरकारलाई कानुन निर्माणमा भन्दा बजेट कार्यान्वयनमा ध्यान दिन सुझाव दिए । प्रभावकारी योजना निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तहविचको अन्तरसम्बन्धबारे प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर पोखरेल, मुख्यमन्त्री कार्यालयका तर्फबाट सुशासन र सेवा प्रवाहका सम्बन्धमा प्रस्तुती समेत राखिएको थियो । स्थानीय तहहरुले भने प्रदेश सरकार र पालिकाहरुविच समन्वय र सहकार्य सहज हुन नसकेकाले त्यसलाई चिर्ने गरि निति बनाउन आग्रह गरेका थिए । प्रदेश ५ का १०९ वटा स्थानीय तहमध्ये अधिकांश तहहरु परिषद बैठकमा आएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.