तिलोत्तमाको मध्यावधि समीक्षामा विभिन्न व्यक्ति सम्मानित,सम्मानित हुनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म

 

 

 

सम्मानित हुनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म

तिलोत्तमा, पुस २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न व्यक्ति, संस्था, आमा समूह, क्लव, विद्यालयहरुलाई सम्मान गरेको छ । विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई मध्यावधि समीक्षाको अवसरमा सोमबार सम्मान गरिएको हो । यसरी सम्मान गरिनेमा किसानदेखि जेष्ठ नागरिक र पत्रकारसम्म छन् ।

नगरपालिकाले तिलोत्तमा नगरमा भएका विकास निर्माण, सेवा प्रवाह, प्रवद्र्धनात्मक अभियानलगायतका गतिविधिलाई पत्रकारितामार्फत् जनमानसमा पुर्याउने काममा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारहरुमध्ये टोपराज शर्मालाई सम्मान गरेको छ । शर्मा अनलाइन खबर डटकमका वरिष्ठ संवाददाता हुनुहुन्छ ।

यस्तै उत्कृष्ट किसानतर्फ तिलोत्तमा–१४ रगरगञ्जका तरकारी उत्पादक किसान पन्नालाल केवट र वडा नं. १३ वनकट्टीकी पशुपालक किसान दुर्गा भण्डारीलाई नगदसहित सम्मान गरिएको छ । नगरपालिकाले अघि सारेका विभिन्न अभियान, क्रियाकलापमा सक्रिय सहभागिता जनाउने वडा नं. ८ को प्रदीपनगर टोल विकास संस्था, वडा नं. २ को जागृति टोल विकास संस्था, वडा नं. १० को गरिमा टोल विकास संस्थालाई पनि नगदसहित सम्मान गरिएको छ । नगरका वडाहरुमध्ये उत्कृष्ट वडाको रुपमा वडा नं. २ र वडा नं. ९ पनि सम्मान गरिएको छ ।

यसैगरी नमस्ते नेपाल, जागृति आमा समूह, प्रगति महिला परिवार पनि सम्मानित भएका छन् । नगरभित्रका जेष्ठ नागरिकतर्फ तिलोत्तमा–८ का १०६ वर्षका केशवराम ज्ञवाली र तिलोत्तमा–३ की १०१ वर्षीय गंगादेवी पंगालीलाई पनि नगदसहित नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकामा सबैभन्दा बढी सम्पत्ति कर तिर्ने केशवमणि आचार्य दिक्षित, व्यवसाय कर तिर्ने टाइगर प्यालेस रिसोर्ट, कृषितर्फ मुलुकमैं बढी कर तिर्ने अन्नपूर्ण एग्रो इण्डिष्ट्रिज प्रालिलाई पनि सम्मान गरिएको छ । सेमरा बजार स्वास्थ्य चौकी अन्र्तगत्की स्वास्थ्य स्वयंम्सेविका चाँदनी गिरी, टिकुलिगढ स्वास्थ्य चौकीकी उमादेवी सुवेदी पनि नगरपालिकाको सम्मानमा परेका छन् ।

शिक्षातर्फ २०७५ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने दिया पाण्डे, चाहना थापा, आरती शर्मा, विधान नेपाल, सौरभ पौडेल, क्रिष्टिना रास्कोटी, निकिता खनाल, शान्ति नमूना मावि, जनजागृति मावि, सेमरी आधारभूत विद्यालय र प्यारामाउण्ट इंलिस बोर्डिङ स्कुललाई पनि सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा प्रदीप वन, इन्द्रदत्त सापकोटा र चन्द्रा थापालाई पनि नगरपालिकाले सम्मान गरेको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधि आएपछि हालसम्म भएको कार्यप्रगति विवरण पेश गर्नुभएको थियो । त्यसअवसरमा प्रमुख अतिथि गिरीले दिगो हुनेगरी विकासका काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । मन्त्री गिरीले नगरपालिकाले अढाई वर्षमा गरेको समग्र कार्य उल्लेखनीय रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले तिलोत्तमाले सुरु गरेका नौला अभियानहरु सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता यज्ञ गैरे, मोहन चापागाईं, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीलगायतले नगरको समग्र विकाशमा जनचासो बढेकाले नगरको विकाश अझ सशक्त हुने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा नगरका तपÞर्mबाट स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख जागेश्वरी चौधरीले विकास निर्माण र सबै प्रकारका अभियानमा नगरबासीबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत माधव शर्माको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संघ–संस्था, टोल विकास संस्थालगायतका प्रतिनिधिहरुले नगरपालिकाले गरेका काम–कारवाहीको सन्दर्भमा विभिन्न सुझावहरु दिनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.