तिलोत्तमामा खाद्य मेला सुरु खाद्य उत्पादनको बजारीकरणमा सहयोगः विश्वकर्मा

                                                     

                                                           

                                                      तिलोत्तमामा खाद्य मेला सुरु
                                                 खाद्य उत्पादनको बजारीकरणमा सहयोगः विश्वकर्मा
केशब भण्डारी
तिलोत्तमा, २३ फागुन ।
रुपन्देहीको तिलोत्तमामा शुक्रबारदेख खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा तिलोत्तमाको कोटिहवास्थित पशुपति माविको प्रांगणमा खाद्य मेला सुरु भएको हो ।
आम उपभोक्तामा खानी बानीको सुधार तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाको पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले उदघाटन गर्नु भएको हो । त्यस अवसरमा उहाले खाद्य मेलाले उत्पादनको बजारीकरण, व्यापार बिस्तार र प्रचारप्रसारमा सहयोग पुग्ने बताउनु भयो ।
गुणस्तरीय खाद्य उत्पादनबाट लाभ लिन र खानेबानीमा सुधार गर्न उपभोक्तालाई आग्रह गर्दै उहाले आफ्नो आचरणलाई समयानुकुल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनु भयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले खाद्य मेलाबाट जान्ने अवसर प्राप्त गर्ने बताउनु भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक राकेश त्रिपाठीले परम्परागत र पोषिला खानाको उपभोगले मानिस स्वस्थ हुने भएकाले यस्ता खालका खाद्य मेलाले उपभोक्तालाई पोषिलो खानेकुराको बारेमा जानकारी हासिल हुने बताउनु भयो । त्यस अवसरमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेल, जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौडेल, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेजकुमार पाठक, पशुपति माविका प्राचार्य वेदनारायण भट्टराईलगायतले अर्गानिक खाद्य पदार्थको उत्पादनलाई प्रवद्र्धन गर्न र त्यस्ता वस्तुहरुको बजारीकरण गर्न मेला सहयोगी हुने बताउनु भएको थियो ।
मेलामा स्थानीय रुपमा उत्पादन तथा उपलब्ध हुने परम्परागत र पोषिला खानाका बारेमा जानकारी गराइने छ । “परम्परागत पोषिलो एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ सुरु मेला फागुन २५ गतेसम्म चल्ने छ ।
मेलामा खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेका छन् । मेलामा अन्नमा आधारित अनरसा, भक्का, चटामरी, च्याख्ला, चिउरा, ढिंडो, गोलफुकी, खट्टे, लावा, सेलरोटी, सयाबजी तथा योगरीको स्वाद लिन पाइने छ भने दलहनमा आधारित किनेमा, क्वाटी, मस्यौरा, सातु र टोफुको स्वाद लिन पाइने छ ।

यसैगरी फलफूलमा आधारित अचार, खल्प, चुक, माडा, निम्की, तितौरा, तेलहनमा आधारित फिलिङ्गे, घिउ दूधमा आधारित दही, मही, घिउ, गुँदपाक, पुष्टकारी तथा माछा मासुमा आधारित सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछालगायतका परिकार राखिएको छ ।
मेलाका लागि निःशुल्क प्रवेश तथा स्टलहरुका लागि समेत निःशुल्क सहभागिता गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख विमल कुमार दाहालले जानकारी दिए । स्थानीयस्तरमा उत्पादन हुने पौष्टिक महत्वका कृषि उपजबाट विकास एवम् तयार गर्न सकिने खाद्य परिकारहरुको विकास, व्यावसायीकरण तथा उपभोग अभिवृद्धि गर्ने र खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, संचयकर्ता एवम् उपभोक्ताहरुलाई एकै थलोमा राखेर नविनतम् खाद्य प्रविधि, पोषण र स्वच्छताबारे ज्ञान विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । २० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेलाको मूख्य आकर्षणका रुपमा स्थानीय कृषिजन्य खाद्य उद्योगहरुको प्रदर्शनी, प्रचलनमा रहेका स्थानीय उपजहरुको प्रदर्शनी, मौलिक सँस्कृती झल्कने होमस्टे तथा खाद्य व्यवसाय, विभिन्न जातजातिका परम्परागत खानेकुरा तथा खाद्य तथा पोषणसँग सम्बन्धित शिक्षण संस्थाहरुले तयार पारेका खानाहरु रहेका छन् । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ भने उत्कृष्ट स्टलहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.