नेकपा क्षेत्रीय कमिटीले कोरोनाविरुद्ध टोलटोलमा जनचेतना जगाउने

 

नेकपा क्षेत्रीय कमिटीले कोरोनाविरुद्ध टोलटोलमा जनचेतना जगाउने
बुटवल, २३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित बैठकले गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ र प्रदेशसभा २ कमिटीसहित बसेको संयुक्त बिस्तारित बैठकले पार्टी एकता सुद्धिढीकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन तयारी गर्ने र जनसम्बन्ध बिस्तारलाई पनि जोड दिने निर्णय पनि गरेको क्षेत्रीय कमिटीका संयोजक तेजेन्द्र केसीले जानकारी दिए ।
बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कोरोना भाइरसको जोखिमका कारण पार्टीले तत्कालका लागि विशेष अभियान स्थगीत गरेको जानकारी दिइन् । उनले पार्टीले अंगीकार गरेको नीति र नेतृत्वप्रति उत्तरदायी हुन आग्रह गर्दै परिवर्तनप्रति विश्वस्त हुनुपर्ने बताइन् ।
उनले असम्भव कुरालाई कामबाट सम्भव तुल्याउनुपर्नेमा जोड दिंदै जनसंगठनलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने बताइन् । बैठकलाई संबोधन गर्दै पार्टीका रुपन्देही इन्चार्ज एवं प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने बताए । उनले नकारात्मक कुराहरुको चर्चा बढी हुने गरेको भन्दै सकारात्मक कुराहरुको प्रचारप्रसारका लागि कार्यकर्ताहरुले भूमिका खेल्नुपर्ने बताए ।
बैठकलाई नेकपा रुपन्देहीका सहइन्चार्ज एवं प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, पुरन गुरुङ, नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, सचिव नारायण जिसीलगायतले संबोधन गरेका थिए । बैठकमा पार्टीका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, सैनामैना नगर कमिटी अध्यक्ष नारायण न्यौपानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकले पार्टीका जिल्ला सदस्य ज्ञानप्रसाद अर्यालकी आमा देउरुपा अर्याल र तिलोत्तमा वडा नम्बर ६ का पार्टी सदस्य क्रृषिराम शर्माको निधन भएकोमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको क्षेत्रीय सचिव होमनाथ न्यौपानेले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.