पत्रकारको स्वास्थ्य सुरक्षा र सहज परिस्थिति निर्माणमा ध्यान दिन सरकारसँग आग्रह

 

काठमाडौं। वैशाख ७ । सञ्चार फाउण्डेसन नेपालले कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला पनि आफ्नो कर्तव्य पुरा गरिरहेको पत्रकारको स्वास्थ्य सुरक्षा र काम गर्ने सहज परिस्थिति निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।
फाउण्डेसनले कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीले मुलुकमा लकडाउन घोषणा भएको र सबैलाई घरमै बसेर सुरक्षित रहन सचेत बनाउँदै पत्रकारहरु भने जोखिम मोलेर फिल्डमा समेत काम गर्नुपरेको भन्दै अग्रमोर्चामा खटिएका पत्रकारहरुका लागि नियमित स्वास्थ्य परीक्षण, बिमा तथा सञ्चार साधनमा सहुलियत सहित राहत प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरेको छ ।
फाउण्डेसनका अध्यक्ष रामकृष्ण भण्डारीद्वारा जारी विज्ञप्तिमा आआफ्नो संस्थामा कार्यरत पत्रकारलाइ आवश्यक पर्ने मास्क, पञ्जा र स्यानिटाइजर लगायत अन्य स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयाप्त व्यवस्था गरिदिन पनि सञ्चार गृहहरुको ध्यानाकर्षण गराइएको छ । जोखिमको बेला पत्रकारहरुको आत्मवल बढाउन सरकारले उचित कदम चाल्नु आवश्यक रहेको उल्लेख गर्दै फाउण्डेसनले अहिलेको कठिन अवस्थामा पनि अनेकौ कठिनाइ सहेर पत्रकारिता गरेका पत्रकारहरुलाई पर्याप्त सतर्कता अपनाउन पनि सुझाव दिएको छ ।
सूचनाका श्रोतहरु साँघुरिएको, फिल्डमा जान र सम्वन्धित पक्षसँग कुरा गरेरै समाचार प्रवाह गर्न नसक्ने यति गम्भीर समस्या पत्रकारहरुले पहिलो पटक सामना गर्नुपरेको भन्दै विज्ञप्तिमा गलत सूचनाबाट जोगिएर सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा पनि उत्तिकै सजग हुनुपर्नेमा जोडदिइएको छ ।
फाउण्डेसनले आम मानिसको मनोबल बढाउन सकारात्मक विषयलाई प्राथमिकता दिन र प्रमाणित तथ्यांकलाई ख्याल गर्न समेत आग्रह गर्दै अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान र हरेक फरक काम गर्दा अनिवार्य रुपमा स्यानिटाइजर प्रयोग वा सावुनपानीले हात धुन पनि पत्रकारहरुलाई आग्रह गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.