नारायणप्रसाद भण्डारी
महामारीका रुपमा चीन हुँदै फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुप मात्रै लिएको छैन सिंगो संसारलाई हल्लाइदिएको छ । अहिलेसम्म २५ लाख भन्दा बढी संक्रमित भएका छन भने दुइ लाख भन्दा बढिको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमण विश्वकै शक्तिशाली देश अमेरिकामा देखापरेको छ । त्यस्तै युरोपेली मुलुक इटली र स्पेन लगायत बेलायत, फ्रान्स पनि कोरोना भाइरस महामारीबाट बढी प्रभावित भएका छन् । हेर्दा हेर्दै हजारौको ज्यान गैरहेको छ ।
संक्रमणको छटपटीबाट नेपाल पनि अछुतो छैन् । तर आजका मितिसम्म तुलनात्मक रुपमा नेपाल जोगिएको छ । संक्रमितको संख्या पचास भन्दा तलै छ भने कोरोनाकै कारण कसैले ज्यान गुमाउनुपरेको छैन् । भोलिको अवस्था के हुने हो त्यो त भन्न सकिन्न । तर सरकार र आम जनताको सावधानी र सतर्कताले पनि काम गरेको छ । यो कोरोनाको कहरले अहिले सबैभन्दा असर मानव जीवनमा त परेको छ नै यसले अर्थतन्त्रलाई पनि नराम्ररी प्रभावित गरेको छ । अझ यो कहिले सकिन्छ र आगामी दिनमा त्यसले के कति असर गर्छ भन्ने आकंलनमै छ । यथार्थ विवरण आउन समय लाग्ने छ तर विश्व अर्थतन्त्र बर्षौसम्म पछि पर्ने निश्चित छ । हाम्रो जस्तो विकासमा भर्खर वामे सर्दै गरेको तथा भ्रष्टाचार र कमिसनतन्त्रले जरा गाडेको मुलुकले आर्थिक रुपमा भयानक नोक्सानी ब्यहोर्नुपर्ने कुरामा कसैको दुईमत छैन् ।
कोरोनाबाट जोगिन लकडाउन भएको पनि एक महिना नाघिसकेको छ । उद्योगधन्दा कलकारखाना तथा ब्यापार ब्यवसाय ठप्प छ । जनजीवन घरभित्रै सिमित छ । कृषि क्षेत्रमा पनि कोरोनाको कहर र त्यसपछिको लकडाउनले कृषि क्षेत्र पनि अछुतो रहेन । खासगरि तरकारी तथा फलफुलजन्य उत्पादन कुखुरा माछा ब्यवसाय तथा गाईभैसी पालेका किसानले दैनिक ठुलो नोक्सानी व्यहोर्नुपरेको छ ।तरकारी खेतवारी मै कुहिएको छ । कुखुरा र माछा जहाँ छन त्यही मरेका छन् । गाईभैसीको दुध सडकमा पोख्नुपर्ने अबस्था प्रतिनिधि उदाहरण हुन् ।
उत्पादकले दुखकष्ट गरि उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्याउने र उचित मुल्य पाउने सुनिश्चितता सरकारले गर्नुपर्ने हो । त्यसमा सरकारी निकायहरुले समेत ध्यान दिएनन् । त्यसबाहेक यो समयका हिसावले पनि किसानका लागि धेरे महत्वपूर्ण छ । एकातिर बालीभित्र्याउने चटारो छ भने अर्कोतिर अधिकांश पहाडी क्षेत्रका किसानको मुख्य बालीका रुपमा परिचित मकै रोप्ने हतारो पनि छ ।
अर्कोतिर अहिले लकडाउनकै कारण शैक्षिक क्षेत्र पनि प्रभावित छ । लाखौ विद्यार्थीको अमुल्य समय त्यसै खेर गैरहेको छ । परीक्षाहरु रोकिएका छन् । नयाँ शैक्षिक सत्र शुरु हुन सकेको छैन् । कहिले शुरु हुन्छ भन्ने पनि अन्योल नै छ । परिस्थितिले यस्तो अबस्थामा ल्याएको छ कि सबैतिर सम्हाल्न निकैं मिहिनेत गर्नुपर्नेछ । तैपनि कोरानाको महामारीबाट कम्तिमा सुरक्षित छौ भनेर चित्त बुझाउनुपरेको छ । यस्तो अबस्थामा के सरकार के विपक्षी केही नभनि सबैले एकमत भएर जोखिमबाट जोगिन काम गर्नु आवश्यक छ ।
वैशाख जेठको समय किसानका लागि एकदमै महत्वपूर्ण हुन्छ । हिउँदे बाली थन्क्याउनेदेखि बर्षे बाली लगाउन र तरकारी खेतीका लागि पनि समय हो यो । यो बेला काम गर्न पाएनन भने भोलिका दिनमा खेतवारी बाँझै हुने र अन्न उत्पादन नहुने खतरा उत्तिकै हुन्छ । त्यसैले यो बेला मल र बीउको पनि सुनिश्चितता गर्नुपर्ने समय हो । नत्र त खाद्य संकट आउने सम्भावना हुन्छ। त्यसमा सरकारको प्रयाप्त चासो पुगेजस्तो देखिन्न । त्यसैले कृषिबाली तर्फ यो बेला विशेष ध्यान दिनैपर्छ । लकडाउनको पालना गर्दै सुरक्षित रुपमा कृषिको कामलाई अघि बढाएर अर्थतन्त्रलाइ जोगाउन थोरै भएपनि पहल गर्न ढिला गरियो भने पछि पछुतो सिवाय अरु केही हुनेछैन् ।