काठमाडौं, जेठ १७ । सामुदायिक वनका उपभोक्ता समूहहरुको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्य सहित २०५२ साल जेठ १८ गते महासंघ स्थापना भएको सामुदायिक वन उपभोक्ता महासंघ २५ औं बर्षमा प्रवेश गरेको छ ।
स्थापनाको रजत जयन्तीका अबसरमा जेठ १८ गते देशभरका २२ हजार २६६ सामुदायिक वनका २९ लाख ७ हजार ८७१ घरधुरीले वृक्षरोपण गरिरहेका छन् ।
उनीहरुले आफ्नो घरआगन,बगैचा तथा आफ्नो जग्गामा जहाँ पायक पर्छ त्यही विरुवा रोपेर रजत जयन्ती मनाइदै गरेको महासंघकी अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।
देशभर उपभोक्ताहरुले हस्तान्तरण गरिएको २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन ।
पच्चिस वर्षको अवधिमा महासंघले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको महासंघका अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
“वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार ः उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ २५ औ स्थापना दिवस भव्य रुपमा देशव्यापी मनाउने महासंघको योजना भएपनि विश्व कोरोना भाइरस (कोभिड १९)को सक्रमणबाट गुज्रेको र नेपालमा समेत असर पर्दा देश पुर्णरुपमा लकडाउनमा भएकोले शनिवार दिपावली र आइतवार घरघरमा वृक्षरोपणको कार्यक्रम गरिएको महासंघका सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो।
महासंघका महासचिव बिर्खबहादुर शाहीले गाउँ तहदेखि, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सञ्जाल र नेतृत्व रहेको महासंघले यो बर्षभरि नै रजत जयन्ती मनाउने बताउनुभयो ।
कोषाध्यक्ष पार्वता गौतमले महासंघले पचास प्रतिशत महिला सहभागिताका लागि विधानमै व्यवस्था गरेर लागु गरेको र दलित, जनजाति, गरिव, विपन्न वर्ग तथा क्षेत्रगत प्रतिनिधित्वको व्यवस्था विधानमै गरेको महिला सहभागिता र समाबेशीकरणको मुद्दामा महासंघले सिंगो मुलुकलाई बाटो देखाएको बताउनुभयो ।
रजतजयन्तीका अबसरमा राष्ट्रिय सचिवालयले सरोकारवालाहरुसंग विधुतिय विधि मार्फत शुभकामना तथा सुझाव लिने र वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतबाट २५ औं रजत जयन्तीको लोगो सार्वजनिक गर्नेछ ।
रजत जयन्तीमा विभिन्न जिल्लामा पनि कार्यक्रमहरु भैरहेका छन् । रुपन्देही,कपिलबस्तु, नवलपरासी,उदयपुर र तनहुँ जिल्ला सहित देशैभर वृक्षरोपण भैरहेको छ । तनुहँको देबघाट गाउपालिका वडा न ५ मा कालिका सामुदायिक बनले बृक्षारोपण तथा झाडी सफाई गरेको छ ।