महामारीविरुद्ध स्वनियमको अपील

बुटवल, जेठ १८ । बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल मार्फत र प्रमुखको नेतृत्वमा आफै अनुगमन गर्दै यस्तो आग्रह गरेको हो ।
विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वानियममा बस्न जरुरी रहेकोमा जोड दिंदै आएका छन् ।
अत्यावश्यक काम परेपनि पूर्ण सुरक्षाको प्रवन्धसहित घरबाट निस्किन र सामाजिक दुरी कायम राख्न उपमहानगरले आग्रह गर्दै आएको छ । बुटवलमा मानिसको आवागमन धेरै हुने भएकाले उपमहानगरका प्रमुख शिवराज सुवेदी आफै अनुगमनमा निरन्तर खट्नुभएको छ ।
प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरसमेत यहीँ छ । यी संवेदनशील र अत्यावश्यक काम परिरहने क्षेत्र पनि हुन । बुटवलले प्रदेशमै पहिलो कोरोना विशेष अस्पताल, क्वारेन्टाइन र आइसोलेशन सेन्टर निर्माण गरेको थियो ।
यस्तै बुटवलले क्वारेन्टाइनमा रहेकाहरुलाई योगा अभ्याससमेत गराउँदै आएको छ । बुटवल–१२, तामनगरमा रहेको क्वारेन्टाइन र कान्तिमाविमा रहेको क्वारेन्टाइनमा रहेकालाई योगाका जानकारहरुमार्फत योगा, ध्यान र विभिन्न आसनको अभ्यास गराइएको हो ।
यस्तै बैंक तथा वित्तीय संस्थाका विभिन्न तहका कार्यालयदेखि संसदसमेत यहीँ रहेको र दुई प्रमुख राजमार्गसमेत यहीँबाट जाने भएकाले बुटवलमा मानिसको आवागमन धेरै छ । उपमहानगरले समय तालिका नै निर्धारण गरेर सुरक्षित तरिकाले मात्रै त्यस्ता पशल तथा सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।
अत्यावश्यक काम परेर हिंडडूल गर्नैपर्ने अवस्थाका मानिसलाई पनि कसरी सुरक्षित राख्ने र उपभोक्ताको जिउधन तथा स्वास्थ्यलाई पनि कसरी सृुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले यहाँका किसानले उत्पादन गरेको तरकारीलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा उपभोक्ताको घरघरमा विक्री वितरण गर्न पाउनेगरि व्यवस्थासमेत मिलाएको छ ।
बुटवलले कृषिलाई प्रबद्र्धन गर्ने, किसानालाई प्रोत्साहन गर्ने र उपभोक्ताको स्वास्थ्यलाईसमेत विशेष चासो दिएर संवेदनशीलता देखाएको भन्दै उपभोक्ता अधिकारकर्मीले पनि सराहना गरेका छन् । उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का सचिव दुर्गा गौतमले महामारीका बेलामा हुन सक्ने सानो–सानो जोखिमलाई पनि मध्यनजर गरेर सावधानी अपनाउन जरुरी रहेका बेलामा बुटवलले उदाहरणीय काम गरेको प्रतिक्रिया दिनुभयो ।
लकडाउनको समयमा प्रमुख सुवेदीले प्रहरी कार्यालयका अधिकारी, नगर प्रहरी, वडाअध्यक्ष, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीसमेतको सहकार्यमा नगरका विभिन्न स्थानहरुमा पुगेर अनुगमन गर्दै स्वनियमलाई पालना गर्न आग्रह गर्दै आउनुभएको छ ।
‘एकातिर पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक सञ्जाल, अस्पताल र औषधी पसलहरु, वित्तीय संघसंस्थाहरु, खाद्यान्न, दुध, तरकारीलगायत होलसेल पसलहरु, केन्द्र प्रदेश र स्थानीय सरकारका कार्यालयहरुलगायत अत्यावश्यक सेवालाई सञ्चालन गर्नुपर्ने छ’ उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ–‘बुटवलले नै समग्र प्रदेशको अभिभावकत्व निर्वाह गर्ने र लकडाउनको पालना गर्दै नगरका नागरिकको सुरक्षाको समेत प्रबन्ध मिलाउनुपर्ने छ । यसैले सबैले स्वनियम पालना गरौं र गर्न लगाऔं ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.