सैनामैनाको नीति तथा कार्यक्रम स्वास्थ्य, कृषि, शिक्षा तथा रोजगारी प्राथमिकतामा,

 

सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति

कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्ने

सैनामैना, असार ५ । सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व बृद्धि र शिक्षा, रोजगारी तथा खेलकुदलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७÷७८ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शुक्रबार भएको सातौं नगर सभामा प्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आवधिक, मध्यकालीन र दीर्घकालीन योजनाहरु तय भएको र तिनैलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै अगाडि बढिने उल्लेख गर्नुभएको छ ।
नगरका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको महिला, बालबालिका र अपाङ्ग लक्षित सामुदायिक अस्पतालको निर्माण, रामापुर स्वास्थ्य चौकीमा आँखा अस्पताल निर्माण र वडा नं. ११ वनकट्टीमा २४ घण्टे प्रसुती सेवाको विस्तार तथा ट्रमा सेवासहितको विश्राम स्थल निर्माणको लक्ष्य सहितका योजना सार्वजनिक गरिएको छ ।
सालझण्डीमा प्रदेश सरकारको सहकार्यमा ट्रमाको प्राथमिक उपचारसहितको विश्राम स्थल निर्माणको तयारी भइरहेको छ । यसैगरी स्वास्थ्य चौकी नभएका ९ वटा वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, आगामी कार्तिक मसान्तसम्म सवै नगरवासीको स्वास्थ्य वीमालगायतका योजना नीति कार्यक्रममा प्रस्तुत गरिएको छ ।
व्यवसायिक र आधुनिकीरणसहितको कृषि तथा उत्दानमुखी सहकारी
व्यवसायिक र आधुनिकीरणसहितको कृषि तथा उत्दानमुखी सहकारीको जोड दिएको छ । कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्न संघ र प्रदेश सरकारसँग गरिने भएको छ । ‘भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि’ भन्ने अभियान अन्तरगत भूमि बैंकको स्थापना गरि सामुहिक खेति, करार खेति र व्यवसायिक खेति गर्ने व्यवस्था मिलाइने भएको छ ।
करार खेति गर्नको लागि जग्गा लिजमा लिदा जग्गा वहाल कर मिनाहा गरिने प्रमुख कार्कीले बताए । यसैगरी नगरमा जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न जग्गाधनिले जग्गा बाझो राखेमा भूमि बैँकले लिजमा दिन सक्ने नीति बनाइने भएको छ । बैदेशिक रोजगारबाट घर फर्किएका युवा र कृषि तथा पशु उद्यमीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था, कृषियोग्य जमिनको चक्लावन्दि गरी गैरकानूनी खण्डिकरणलाई नियन्त्रण गर्ने, बालिवस्तुको वीमा कार्यक्रमलाई सहज र सस्तो रुपमा किसानको पहुँचमा पुर्याइने, कृषि योजना पकेट क्षेत्र निर्धारण, हरेक वडामा कृषक एकिकृत शत्रुजित व्यवस्थापन (आईपिएम) पाठशाला सञ्चालन तथा बेमौसमी तरकारी खेति उत्पादनको लागि हाइटेक प्लाष्टिक टनेल निर्माण लगायतका बुँदाहरुलाई नीति कार्यक्रममा समेटिएको छ ।
प्रविधिमा आधारित शिक्षा र सैनामैना चिनाउने स्थानीय पाठ्यक्रम
नीति तथा कार्यक्रममा शिक्षाको क्षेत्रमा ‘प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता’ नारा अनुसार विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सुचना प्रविधिको व्यवस्था गरिनुका साथै स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमश लागु गरिने नगर प्रमुख कार्कीले उल्लेख गर्नुभयो । प्रविधिमा आधारित शिक्षा र सैनामैना चिनाउने स्थानीय पाठ्यक्रम नगरको नीति तथा कार्यक्रममा छ ।
नगरपालिका भित्रका सबै विद्यालयहरुलाई एकैकिसिमको रंगरोगन गर्न प्रोत्साहन गर्ने, जङ्कफुड निषेध गर्दै प्राथमिक तहका बालबालिकाहरुलाई निशुल्क खाजाको व्यवस्थालाई निरन्तरता दिने र अझ प्रभावकारी बनाइने भएको छ । छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध गराउने, विद्यालय समायोजन भई प्राप्तहुने अनुदानबाट ७५ प्रतिशत रकम अनिवार्य रुपमा विद्यालयको प्रयोगशाला, प्रविधि, पुस्तकालय र उपलब्धि सुधार सूचांकमा खर्च गर्नुपर्ने नीति लिइएको छ ।
पूर्वाधार विकास र व्यवस्थित भौतिक संरचना
नगरको पूर्वाधार विकासका लागि पूजिँगत बजेटको न्यूनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभारमा खर्च गरिने भएको छ । चालु आर्थिक वर्षमा सुरु भएका सडक स्तरोन्नतीका योजनाहरुलाई न्यूनतम ७५ प्रतिशत बजेट सुनिश्चित गरि कार्तिक मसान्तसम्म गरिने उल्लेख गरिएको छ ।
‘नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार’–भन्ने नारासहित कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँ भित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्नेकार्यलाई निरन्तरता, आगामी आर्थिक वर्षभित्र सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्रे गर्ने तथा बाँकि सडकखण्डमा सब(बेस गर्ने महत्वकांक्षी योजना नीति कार्यक्रममा समेटिएको छ ।
सडकमा गुणस्तर कायम गर्न अस्फाल्ट प्रविधि अपनाइने, वडा नं. ३ को मुर्गिया साप्ताहिक हाटबजार र शान्तिटोल साप्ताहिक हाटबजार भदौ महिनासम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सालझण्डी ढोरपाटन बसपार्क र पानबारीको साप्ताहिक हाटबजार निर्माण कार्यलाई निरन्तरता, फूलवारी पार्क, वोलबम पर्यावरणीय पार्क, मलमला पार्क, वडा नं. ११ को राजापानी पर्यटकीय क्षेत्र, वनकट्टीमा ग्रिनपार्क र वडा नं. ९ मा वालउद्यान निर्माणको लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रममा छ ।
यसैगरी आगामी आर्थिक वर्ष भित्रै मुर्गिया हाटबजार र दूर्गा मन्दिर क्षेत्रलाई समावेश गरी आधुनिक पार्क निर्माणको काम थालनी हुने भएको छ । अवस्थित लामीरहको बहुउद्देश्यीय बाँधको पहिलो चौमासिक भित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी ठेक्का व्यवस्थापन गरिने भएको छ । यो संघीय सरकारको ध्यान खिचेको सैनामैनाका नगर प्रमुखको ड्रीम प्रोजेक्ट हो । नदिहरुमा तटबन्ध गरेर बहुउपयोगमा ल्याइने, सार्वजनिक निजी साझेदारीमा स्विमिङ पुल सहितको आधुनिक वाटर फन पार्क, स्विमिङ पुल, पिकनिक स्थल, लघु उद्योग, व्यवसायिक मल लगाएतका पूर्वाधारको निर्माणको लागि सम्भाव्यता अध्यय्न, मुर्गिया–लुम्विनी सडकको मुर्गिया–सुर्यपुरा खण्डको बाँकी छ किलोमिटर सडक कालोपत्रे, सैनामैना मेजर रोडको बाँकी रहेको ९ किलोमिटर सडक कालोपत्रे, कर्साघाट शवदाह गृह र वडा नं. ९ गुरुङ्ग डाँडामा रहेको सामाजिक संस्कार स्थल पनि नीति तथा कार्यक्रममा महत्वका साथ परेका छन् ।
भवनसंहीताको कार्यान्वयन र अव्यवस्थित बसोबासीको व्यवस्थापन
भवनसंहीताको पूर्ण कार्यान्वयन गर्दै अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिने भएको छ । केही समयअघि गाउँब्लकका लालपुर्जा वितरण गरेको सैनामैनाले संघीय सरकारको सहकार्यमा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ । यसका लागि अव्यवस्थित बसोबासीको घर जग्गा नापजाँच, नक्शा स्रेस्ता तयार गरिएको छ । सोही आधारमा जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुका साथै नगर भित्रका सडकको क्षेत्र अतिक्रमित भूमिलाई नगरपालिकाको स्वामित्वमा ल्याइने छ । नगरभित्रका फिल्ड र नक्सामा, क्षेत्रफल तथा साइट नमिली फरक परेका अस्नैया डाँडा, बाँसगढी, सालझण्डी र वडा नं.२ का जग्गाहरुको हकमा नापी कार्यालय तथा नापी विभागसँग समन्वय गरि फिल्ड अनुसार नक्सा कायम हुने गरी पुन नापी गर्ने कार्य अगाडि बढाईने नीति कार्यक्रममा उल्लेख छ ।
यसैगरी वडा नं. ५,६,७,८ र ९ क्षेत्र भित्र नाप नक्सा गर्न छुटेका गाउँ ब्लक जग्गाहरुको नाप नक्सा तयार गरी जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराउने, हालसम्म पनि बिद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडानको व्यवस्था गर्ने तथा आगामी आर्थिक वर्ष भित्रै सबै वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिसक्ने योजना रहेको नगर प्रमुख कार्कीले बताए ।
संस्कृति, पर्यटन र सांस्कृतिक तथा शान्ति सहर
सैनामैनाालाई बुद्धकालिन समयको प्राचिन र रेशम मार्गको सहरका रुपमा लिइन्छ । यहाँ फेला परेका कैयन सामग्रीहरु लुम्बिनीसंग मिल्दोजुल्दो छन् । तिनै अवशेषहरु संकलन गरेर अहिले मुलुककै ठूलो खुला संग्रहालय बनाउने काम चलिरहेको छ । सैनामैना–१, बनकट्टामा यो संग्रहालय निर्माण हुने छ ।
यस्तै वडा नं. ८ मा लुम्बिनी सांस्कृतिक तथा शान्ति शहर निर्माण गर्ने तयारी छ । यसका लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडि बढिरहेको प्रमुख कार्कीले बताउनुभयो । सैनामैना क्षेत्र, पर्रोहा परमेश्वर बोलबमधाम, मलमला, महेरवादेवी, कोटियाथानलगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण तथा वडा नं. २ मा निर्मित थारु होमस्टेको सभाहल र पाहुना घर औपचारिक रुपमा सञ्चालनमा ल्याउने योजनालाई नीति कार्यक्रममा समावेश गरिएको छ ।
खेलकुद तथा व्यायामशाला
यसैगरी खेलकुदको क्षेत्रमा रङ्गशाला निर्माणका लागि उपयुक्त स्थानहरुको पहिचान गरी निर्माण कार्य अघि बढाउने, त्यसैगरी नगरका विभिन्न वडाहरुमा निर्माणाधिन अवस्थामा रहेका खेलकूद मैदान तथा रङ्गशालाहरुलाई निरन्तरता दिइने भएको छ । पार्कहरुलाई संरक्षण गर्दै खुला व्यायामशाला निर्माण गरिने भएको छ । यहाँका खुला चउरलाई संरक्षण गरेर पार्क निर्माण गर्ने र त्यसैमा व्यायमशाला बनाउने नगरको तयारी छ ।
भूमि बैंक मार्फत भू–उपयोग नीतिको कार्यान्वयन
सैनामैनाले यसक्षेत्रमै पहिलो पटक भूउपयोग नीति बनाएको हो । सोही आधारमा नीति कार्यान्वयन गर्न भूमि बैंकको अवधारणा ल्याइएको छ । भूमि बैंकको अवधारणा कार्यान्यवनका लागि कार्यविधि बनाइएको छ । नीति तथा कार्यक्रममा यसलाई समावेश गर्दै बेरोजगारलाई र विदेशबाट फर्केकालाई कृषिमा आकर्षित गर्ने र त्यसैका आधारमा उत्पादकत्व बढाउने सैनामैनाको योजना छ ।
नगरसभामा उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शाखा प्रमुखहरु, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्र र सामाजिक संघसंस्थाका प्रतिनिधिहरु स्वास्थ्य सुरक्षाको प्रवन्धसहित दुरि कायम गरेर उपस्थिति रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.