तयार हुँदैछ रानीपोखरी

काठमाडौं, असार १४ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् पोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो ।

उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सोमबार उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम सम्पन्न भएको औपचारिक जानकारी दिने बताउनुभयो ।

२०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको हो ।

यसअघि, ०७७ बैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन) अघि यो काम सक्ने तालिका भए पनि कोभिड-१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित भएको थियो ।

पिंध र पानी रहने पर्खालको काम सकिएपछि बर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । त्यसैगरी, टुँडिखेलमा जम्मा भएको पानी ल्याउनका लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माण हेरिरहनु भएका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गर्दा रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ ।

रानीपोखरीको पिंध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ पनि सहभागी भएका थिए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ । यी काम सिए/तुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ ।

ठेक्काको पनि करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेका छौं ।”

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.