काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन भारत लागिपरेको आरोप लगाएका छन् ।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँन दुतावास पनि सक्रिय भएको दावी गरे ।
नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटले आफूलाई हटाउन के-के भइरहेको छ भन्ने देखाइरहेको पनि प्रधानमन्त्रिको भनाइ छ ।
तर नेपालको राष्ट्रियता त्यति कमजोर नभएको भन्दै उनले सत्ताच्यूत गर्ने सपना नदेख्न चेतावनी पनि दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,।’