तिलोत्तमाका किसानलाई अनुदानमा बोयर जातको बोका

 

तिलोत्तमा, असार १६ । तिलोत्तमा नगरपालिकाले व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनको लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।
पशु सेवा शाखाले गरेको सूचनाअनुसार माग गर्ने ५ वटा बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायव पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिनुभयो । मंगलबार नगर उपप्रमुख जागेश्वरी चौधरीले किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवद्र्धनको लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
बोयर जातको बाख्रा कम समयमैं बढी तौलको हुने भएकोले व्यवसायिक बाख्रापालनको लागि तुलनात्मक रुपमा राम्रो मानिन्छ । किसानको मागलाई मध्यनजर राखी नगरपालिकाले वडा नं. ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं. ११ को भुजेल बाख्रा फार्म, वडा नं. १२ का शान व्यवसायिक बाख्रा फार्म, पोख्रेली बाख्रा फार्म र वडा नं. १ को लुम्बिनी गट फर्मलाई बोयर जातको बोका प्रदान गरेको हो । अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ ।
सोही अवसरमा किसानलाई आन्तरिक परजीवि विरुद्धको औषधि समेत प्रदान गरिएको छ ।
वडाध्यक्ष दधिराम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले सम्झौताअनुसार अनुदानमा प्राप्त बोयर जातको बोकाको उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.