काठमाडौं । असार १८ । सत्तारुढ दल नेकपा फुट कि जुटको कठिन मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबीच दुरी बढ्दै जाँदा पार्टी फुट्ने त हैन भन्ने आशंकामा बल पुग्ने गतिविधिहरु भैरहेका छन् ।
बुधवार दिनभर र साँझ भएका दुइ पक्षका भेला आआफ्नो रणनीति बनाउन केन्द्रित थिए । बिहिवार त्यसले झन उग्र रुप लिएको छ । जसले गर्दा स्थायी समिति पनि लामो समय बस्न सकेन् ।
बरु प्रधानमन्त्रीले ससद अधिवेशन हठात अन्त्य गरेर दुरी झन बढेको देखिएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली दुबै पद नछाड्ने अडानमा र दाहाल पक्ष जसरी पनि एक पद छोडाउने रणनितिमा छन् । यसले पार्टी झन गहिरो संकटमा परेको छ ।
त्यसैले स्थायी समितिपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटको संघारमा पुगेको त हैन भन्ने चिन्ताका साथ त्यसो हुन नदिन छलफल भएको बताए । उनले भने, पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित आजको बैठकले पार्टी एकतालाई हरहालतमा रक्षा गर्न र पार्टी, सरकार र राष्ट्रको आवश्यकता पूरा गर्नेगरी अगाडि बढ्न आपसी छलफल गर्नुपर्ने महसुस गरेका कारण पर्सि ११ बजेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।
स्थायी कमिटी बैठक चलिरहँदा मदन जयन्तीमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेपालकै नेताहरू त्यसमा लागेको भनेपछि चर्केको नेकपाको विवाद झनझन उग्र बनेको हो ।
खुमलटारमा बिहीबार बिहान प्रचण्डसँगको भेटमा ओली पक्षका नेताहरुले पार्टी गम्भीर मोडमा पुगेको र फुटबाट जोगाउन दुई अध्यक्षले पहल गर्नुपर्ने बताएका थिए ।
तर विवाद जति भएपनि फुटको अवस्थामा पुग्न भने कठिन छ । किनभने त्यसले आफूहरु राजनीतिक रुपमा सिद्दिनमा दुबै पक्ष जानकार छ ।