बुटबल, असार १९ । गुल्मीको इस्मामा भिषण बर्षासँगै आएको पहिरोले दुइजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना बालबालिका हुन् । स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्री की ७ वर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ।
घाइते भएका इस्मा गाउँपालिका -१ हस्तिचौरका ६ जनालाई पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टको पहलमा नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।
घाइते मध्ये २७ वर्षीया इश्वरी खत्रीको उपचार शिक्षण अस्पताल महाराजगन्ज र अन्य ६४ वर्षीया टीका खत्री, २५ वर्षिया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीको उपचार सैनिक अस्पताल छाउनीमा हुने व्यवस्था मिलाइएको छ ।
पहिरोका कारण उक्त क्षेत्रमा बसोबास गर्ने करिव १६० घर परिवार प्रभावित भएका छन । पूर्वमन्त्री विष्टले पहिरोमा परेर प्रभावित भएका परिवारलाई टेण्ट र खाद्यान्न समेत लिएर जानुभएको थियो ।
त्यस्तै मुसिकोट नगरपालिको वडा-२ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको छ।