प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन–तपाईहरु पनि कित्ताकाट गर्नुहोस्

?????????????????

काठमाडौं असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुलाई आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिनुभएको छ ।

पार्टी विभाजनको संघारमा पुगेका समाचारहरु आइरहँदा प्रधानमन्त्री ओलीले २० गते शनिवार साँझ मन्त्रीहरु र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ भन्नुभएको हो ।

अधिकांश समय आफू बोलेका र आफ्ना कुरा सुनाउन बोलाएको बताएका प्रधानमन्त्री ओलीले स्थिति एकदम जटिल अबस्थामा पुगेको र हरेकले निर्णय गर्नुपर्ने बेला आएको भन्दै अबको परिस्थितिमा आफ्नो कित्ता छुट्याउन भनेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

श्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्थायी समितिलाई ‘हुल्लडहरुको समूह’ भन्दै त्यसको निर्णय आफूले नमान्ने बताउनुभएको थियो ।
पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला छलफल गरेका प्रधानमन्त्री ओलीले ‘ठूलो षडयन्त्र भइरहेको, राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिकएको र आफुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने योजना बनिरहेको’ बताउनुभएको थियो ।

प्रधानमन्त्रीपछि वर्षमान पुनले त्यस्ता षडयन्त्रहरु के के हुन स्थायी समितिमा छलफल गरेर अघि बढ्न सकिने बताउनुभएको थियो ।
यस्तै अर्का मन्त्री घनश्याम भुसालले हल्लाको पछि लाग्नु भन्दा सत्य कुरा के हो त्यसमा केन्द्रित भएर समाधान खोज्नुपर्ने बताउनुभएको थियो ।

तर अर्का मन्त्री पार्वत गुरुङले भने अहिले प्रधानमन्त्री हटाउने कुरा स्वीकार्य नहुने भन्दै संसदीय दलमा सामना गरिने बताउनुभएको थियो ।

त्यअघि शनिबार नै प्रधानमन्त्रीले शितलनिवासमा राष्ट्रपतिसँग भेटेर पछिल्लो परिस्थितिबारे छलफल गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.