–रामकृष्ण भण्डारी
कोरोना संक्रमणको बढ्दो संख्या र लकडाउनको बचेखुचेको नियमबीच हिजोआज कतैपनि तालमेल मिलेको देखिदैंन् । संक्रमण जति बढ्दो छ,बजार र जनजीवन भने उति नै खुकुलो । सार्वजनिक यातायात, स्कूल कलेज र पर्यटन क्षेत्रबाहेक अरु सबै क्षेत्र पुरानै लयमा फर्कन खोजेझै देखिन्छ । सवारी चलेकै छन्, बजारमा भीड बढेकै छ र मान्छेहरु स्वास्थ्य सावधानी अपनाउन छाडेर निष्फिक्री हिडिरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यका र बाँकी मुलुक भने दुई भाग जस्तो देखिन्छ । सास्ती भोग्नेहरु भन्छन–सरकारले जनतालाई काठमाडौं छिर्न नाकाबन्दी लगाएको छ । पहुँच हुनेहरु जो पनि आउजाउ गर्छन, नहुँनेहरु जति रोइकराई गरेपनि सम्भव छैन् ।
यस्तो सकस त संकटकालका बेलापनि भएको थिएन्, इतिहासमै नभोगेको सास्ती भयो। संयोग, मैले एकजना भाइबाट गाउँबाट अहिले काठमाडौ आउँन कतिसास्ती भोग्नुपर्छ भन्ने बेलीविस्तार सुनेको थिए । कसरी आयौ त ? –मेरो प्रश्नमा उनले भने, (म पहिल्यै आउन खोजेको थिए। तर पास मिलाउन ११ दिन लाग्यो । मैले सोधे–‘कसरी ?’ उनको जवाफ थियो–‘पहिलो काठमाडौंमा घरभेटीलाई फोन गरेर फर्कन चाहेको बताँए। उनले शुरुमा अन्कनाउँदै अब दशैसम्म लकडाउन यस्तै चल्छ भने । तर मैले अफिसले जसरी भएपनि आउ भनेकोले नआइ नहुने भो भनेपछि ‘त्यसो भए कम्तिमा आरडिटी भएपनि चेक गरेर आउनु है’ भने। म त घरमै बसेको छु कतै गएको छैन भन्दापनि उनले हैन ‘मनको शान्तिकालागि पनि चाहिन्छ । बरु पिसीआर महंगो पर्ला आरडीटी भएपुग्छ’ भने। मसँग हुन्छ भन्नेबाहेक अरु जवाफ थिएन्। त्यसपछि चिनेजानेकाहरुलाई लगाएर वडा कार्यालयबाट बल्लतल्ल सिफारिस बनाइयो ।
काठमाडौं सिडियो कार्यालयका एकजना अफिसरलाई चिनेका र उनका आफन्त पनि फर्कने भएकोले उनै मार्फत गाडीमा संख्या उल्लेख नगरिकनै पत्र मगाइयो । त्यति गर्न चारदिन बित्यो।’ उनले भन्दै गए–‘काठमाडौंतिर त बल्लतल्ल भयो। तर सिफारिस बनाएर जिल्लाबाट पास मिलाउन अर्को सकस्। प्रशासनले सामान्य चिनजानका भरमा पासनै बनाइदिन्न। अनि जिल्लाबाट पनि अर्का एकजनाको सोर्स लगाएर पास निकालियो।’ अनि चेक पनि गर्यो त ? मेरो प्रश्नमा उनी शुरुमा फिस्स हाँसेर भने, ‘कहाँ गर्नु, जिल्ला स्वास्थ्य कार्यालयमा चिनेका मान्छे भएकोले उनले नै परीक्षण गरेको भन्ने कागज बनाइदिए ।’ बाफरे, कति ठूलो पहुँच। म पनि हाँस्दै फेरि सोधेँ, अरु त समस्या भएन ?
बाटोमा पुलिसको चेकिङले पनि दुख दियो । गाडीमा ८ जना भएकोले पुलिसले चार जनाभन्दा मिल्दैन भन्दै दुख दिएकोले पैसा दिएर मिलाउनु परेको उनले खुलस्त पारे। काठमाडौं छिर्न बनाइएको पासमा आफूहरुले नै संख्यामा आठ लेखेका रहेछन् । त्यसपछि थानकोटमा दुईघण्टा जति लामो जाम र चेकिङपछि ढुक्कले काठमाडौं आइयो । उनको भनाईले पहुँच हुनेहरु कसरी काठमाडौं आइरहेका छन फर्जी कागजात र पुलिसलाई घुसमिलाएर भन्ने खुलस्त हुन्छ । ‘खर्च कति लाग्यो’ गाडी भाडाबारेको मेरो अन्तिम प्रश्नमा उनले जवाफ दिए, ‘गाडी भारा पैतिस सय, पास मिलाउन र यताउती गरेर ५५ सय खर्च भयो एकजनाको ।’ यति गरेर पनि काठमाडौं आउन पाएकोमा उनी सानोतिनो युद्द जितेझै खुसी थिए ।
त्यसपछि मैले गुल्मीबाट फर्केका अर्का एकजनालाई फोन गरेर सोधे, काठमाडौं आउन गाडी सजिलै पाइन्छ तरु उनको जवाफ थियो ‘रिजर्वमा गाडी त पाइन्छ । तर अरु मिलाउनै सकिन्न्। आफुले कागजात मिलाउने हो भने गुल्मीबाट एकजनाको पाँच हजार तिरे साना गाडीले ल्याउँछन ।’ उनका अनुसार यसपाली रिजर्वमा साना गाडीले धेरै पैसा कमाएका छन् । सत्ता रुढ दल निकटका र खासगरि अखिलका पूर्व नेता–कार्यकर्ताहरु गाडी रिजर्व र पास मिलाउने काममा बढी सक्रिय छन् । काठमाडौंबाट प्यूठान वा रोल्पासम्मको एकजनाको भाडा दश हजारसम्म छ । तर सबै तैचुप मैचुप छन्। बाध्यताले हिड्नुपर्नेहरुको आफ्नै बिलौना छ भने प्रशासनको नियमन कतै छैन् । किनकी अहिले उपत्यका छिर्न सामान्य मान्छेलाई महाभारत छ।
रुपन्देहीको मणिग्रामका गणेश पाठकले काठमाडौंबाट कोठा छोडेर सामान लैजानका लागि पास मिलाउनमात्रै १४ दिन धाउनु परेको बताए । सास्ती खेपेर काठमाडौं आउने र त्यति गर्दापनि आउन नपाएकाहरु भन्छन् ‘सामान्य मान्छेलाई काठमाडौं छिर्न यतिधेरै सकस सायद अहिलेसम्म कहिल्यै भएको थिएन्।’ यस्तो समस्या भोग्नेहरु धेरै छन् ।
गुल्मी कै कालीगण्डकी गाउँपालिकाका एकयुवाले त काठमाडौं आउन नपाउँदा खाइपाइ आएको जागिरनै छाड्नुपरेको गुनासो गरे । कसरी गयो त जागिर ? मेरो प्रश्न पछि दलबहादुर विकले टेलिफोनमै निरास भएर इति वृतान्त यसरी सुनाए, म काठमाडौं सुन्धाराको एउटा कम्पनीमा गार्डको काम गर्थे । लकडाउनपछि अफिस बन्द भयो। अनि बल्लतल्ल घर आए । तीनमहिना घरमै बसे । असार १ गतेदेखि लकडाउन खुकुलो भएपछि अफिसमा फोनगरेको ‘आउन सक्छौ भने आउन त’ भने । तर काठमाडौमा चिनेजानेका खास कोही थिएनन्। वडामा गएर त्यहाँ फर्कने र क्वारेन्टिनमा बस्ने सहमति सहितको पत्र बनाउनुपर्ने रैछ। तर कसले सिफारिस बनाइदिने। तैपनि केही हुन्छ कि भनेर गाउँकै एकजना दाइलाई एकहजार दिएर बाइकमा तम्घास गए। तर प्रशासनले उताको सिफारिस नभै हुन्नभन्यो।अनि अफिसमा फोन गरेर आउन पास नपाएको बताए । उनीहरुले वास्तै नै गरेनन् । अनि घर फर्कनुबाहेक मसँग कुनै विकल्प भएन्। अब यतै बाँझोपाखो खनेर खानुपर्ला।’ यति भनिरहँदा उनमा आक्रोश र निरासा दुबै झल्किन्थ्यो।
धेरैको अनुभव छ अहिले काठमाडौ छिर्न सारै सास्ती छ। काठमाडौं, भक्तपुर र ललितपुर तिनैवटा जिल्लाका नाकासिल भएका छन् । गृहले स्थानीय सरकारलाई परिपत्र गरेरै अत्यावश्यक काम बाहेक उपत्यका प्रवेशमा रोक लगाउन निर्देशन गरेपछि काठमाडौ र अन्य क्षेत्रबीचको भेद गहिरो छ । सरकारको भनाइ छ सबैलाइ ह्वार्ह्वार्ती आउँन दिँदा कोरोना संक्रमण भयावह हुन्छ । तर चिनजान र पहुँच हुनेहरु भने आइरहेकै छन् । महानगरीय प्रहरीवृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार असार १ देखि लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिनेहरुको संख्या बढेको छ। त्यसो त लुकीछिपी हुने प्रवेशहरू गर्नेहरुको संख्या पनि कम छैन् ।
गाडीवालाले धादिङको नौविसेमा वा काभ्रेको साँगाभन्दा केही पर ल्याएर छाड्ने र ती मान्छेहरु भित्री गोरेटो बाटोबाट उपत्यका छिर्ने क्रम पनि चलिरहेको छ। प्रदेश र संघीय सरकारका मन्त्री तथा प्रहरीका उच्चपदस्थ अधिकृत र माथिल्लो तहका सरकारी कर्मचारीकै मिलेमतोमा काठमाडौं भित्रिनेहरु पनि कम छैनन्। तर पहुँच नहुनेहरुलाई उपत्यकाका चारै नाका आफूभन्दा अग्ला पर्खाल बरावर भएका छन्। त्यसैले उनीहरु अत्यावश्यक काम परेर वा उपत्यकामा कामकाज भएर पनि आउँन पाउँदैनन् । सरकारी व्यवहारले यस्तो देखाउँछ कि ‘कोरोना भाइरस पनि धनीमानी र पहुँच हुनेहरु सँग आउँदैन् । तर निर्धा तथा पहुँच नहुनेहरु कोरोनाका पोकै बराबर हुन । त्यसैले अहिले पनि जिल्लाबाट फोन गर्दै धेरैले गुनासो गर्छन–‘देश भनेकै काठमाडौं मात्रै रहेछ । सरकारलाई काठमाडौं बचाए पुग्छ भन्ने लागेको छ ।’