बुटवल । साउन १२ । सामुदायिक वन उपभोक्ता महासघले मुलुकको २३ प्रतिशत भन्दा बढी भूभाग ओगटेर घोषणा गरिएका निकुन्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रका स्थानीय समुदाय बर्षौदेखि अन्यायमा परेको बताएको छ ।
ति क्षेत्रहरुमा सेनाको उपस्थिति रहेको र मानवअधिकार हननका घटनाहरु भैरहने गरेको भन्दै महासंघले स्थानीय समुदाय सधै पिडित बन्नुपरेको दावी गरेको छ ।
महासंघले विज्ञप्ति मार्फत भनेको छ, सो क्षेत्रको आसपासमा बस्ने समुदाय अति गरिब र विपन्न समुदायका छन् । यो समुदायले न्युरो,घोगी,सालको पात टिप्न समेत पाउँदैनन् । खाना पकाउने दाउरा संकलन,गाइबस्तुलाई घाँस संकलनमा समेत प्रतिवन्ध लगाइएको छ ।
महासंघले स्थानीय समुदाय र आदिवासी जनजातिहरु नै प्राकृतिक श्रोत र जैविक विविधताको प्रमुख संरक्षणकर्ता भएको उल्लेख गर्दै उनीहरुको योगदानकव मुल्याकंन गर्नुको साटो निरन्तर अन्याय गरिनु क्षम्य नहुने प्रष्ट पारेको छ ।
महासंघले चितवन राष्ट्रिय निकुन्जको संरक्षणका नाममा सैनिकको कुटपिटबाट राजकुमार चेपाङको हत्या गरिएको भन्दै छानविन र दोषीलाइ कारवाही तथा पिडित परिवारलाइ क्षतिपूर्तिको माग गरेको छ ।
महासंघका अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– भविश्यमा यस्ता मानवअधिकार उल्लंघनका घटना नदोहोरिने कुराको सुनिश्चितता गर्न पनि नेपाल सरकारसँग हार्दिक आब्हान गर्दछौ ।