राष्ट्रकवि घिमिरेको निधन

काठमाडौं, भदौं २ । राष्ट्रकवि माधव घिमिरेको एक सय एक बर्षको उमेरमा म‌गलबार निधन भएको छ । नेपाली साहित्यमा अमुल्य योगदान दिएका घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको हो । घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उहाँका नवमञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् । एक सय भन्दा बढी कविता चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार पाउनुभएको थियो ।
‘गाउँछ गीत नेपाली’ ‘फूलको थुङ्गा बगेर गयो’ ‘आजै र राति के देखेँ सपना’जस्ता गीत समेत अत्यन्तै चर्चित छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनमा ट्वीटर मार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, ‘साहित्यमार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.