नेकपा कार्यदलले सुझाव प्रतिवेदन बुझायो अब पार्टीमा बिवाद सकियो — महासचिव

काठमाडौं । भदौं ६। शक्तिस‌घर्ष उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न गठित नेकपाको कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । महासचिव बिष्णु पौडेलको नेतृत्वको ६ सदस्यीय कार्यदलले एक साता लगाएर प्रतिवेदन बुझाएको हो ।

कार्यदलका एक सदस्यका अनुसार प्रतिवेदनमा पाँच बर्ष नै सरकारको नेतृत्व ओलीले र मूलत पार्टी सञ्चालन दाहालले गर्ने गरी तत्कालको शक्तिसंघर्ष टुंग्याउने सुझाव छ ।

यसैगरि पार्टी एकताको महत्वको आवश्यकता,पद्धति र संस्थागत प्रणाली लागू गर्ने,दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पार्ने, पार्टी एकताको काम सम्पन्न गर्ने,बाँकी राजनीतिक एवं संगठनात्मक काम तत्काल गर्ने,राष्ट्रिय महाधिवेशनमा जाने गरी तयारी थाल्ने, सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर, प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने,सीमा समस्या समाधान गर्ने,कोभिड १९ को रोकथाम र उपचार,वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वको प्रतिवेदनअनुसार एमसीसीका विषय टुंगाउने
शान्ति प्रक्रियाका काम टुंगाउने लगायतका बिषय कार्यदलको सुझावका मुख्य बिषय हुन्।

प्रतिवदेन बुझाएपछि मतपत्र नेपालसँग कुरा गर्दै संयोजक पौडेलले अब पार्टीको विवाद टुङ्गिएको बताउनुभयो ।

प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरेपछि सचिवालयमा छलफल हुनेछ । त्यसपछि स्थायी कमिटीमार्फत निर्णय गराउने र स्थायी कमिटीबाट निर्णय भएलगत्तै कार्यान्वयनमा लैजाने ओली र दाहालको योजना छ ।

अध्यक्षद्वयले महासचिव विष्णु पौडेलेको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए ।

Comments

comments