सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय कार्यसमिति बैठक शुरु

 

काठमाडौँ,असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) राष्ट्रिय कार्यसमितिको चौथो बैठक आजदेखि शुरु भएको छ ।
कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्दै शुरु भएको भर्चुअल बैठक भोली असोज ११ गतेसम्म चल्नेछ ।
बैठकमा महासंघको सांगठनिक र आर्थिक प्रतिवेदन पेश हुनुका साथै त्यसबारे छलफल हुनेछ । यसैगरि कोरोना माहामारीले पारेको प्रभाव र त्यस सम्वन्धमा महासंघ मातहतबाट भएका गतिविधिहरुबारे पनि छलफल हुनेछ ।
२०७६ साल भदौंमा जुम्लामा भएको तेश्रो बैठकपछि यो बर्ष भर्चुअल बैठक बसेकोले महासंघले ‘जुम्लादेखि जुमसम्म’को नाम दिएको छ ।
राष्ट्रिय कार्यसमिति बैठकको अध्यक्षता गर्दै महासंघका अध्यक्ष भारती पाठकले कोभिड १९ को महामारीका कारण भर्चुअल बैठक बस्नुपरेको बताउनुभयो । तेस्रो बैठक यताका काम कारवाहीबारे जानकारी दिदै अध्यक्ष पाठकले समुदायका अधिकारमाथि हुने कुनैपनि हस्तक्षेप महासंघलाई स्वीकार्य नहुने बताउनुभयो ।
महासंघको आन्दोलन र दवावमुलक अभियानकै कारण संघीय सरकारले १५ प्रतिशत कर हटाएको, प्रदेश सरकारले पनि पुनरावलोकन गरेका र वैज्ञानिक वन व्यवस्थापनको गलत नीति खारेजीको प्रकृया अघि बढेको जानकारी दिँदै अध्यक्ष पाठकले जनताले वन संरक्षण गर्ने तर व्यवस्थापन र उपयोगमा अवरोध गर्न खोजिए त्यो मान्य नहुने प्रष्ट पार्नुभयो ।
महासंघका सल्लाहकार घनश्याम पाण्डेले वन श्रोतलाई उद्यमशिलतामा उपयोग गर्दै अघि बढ्न सके आर्थिक सम्वृद्धिमा सहयोग पुग्ने बताउनुभयो  ।

बैठकले संगठन सुदृढिकरण अभियान, क्षमता विकास, उद्यम, सुशासन लगायतका बिषयमा पनि छलफल र निर्णय हुने महासंघका महासचिव विर्खबहादुर शाहीले जानकारी दिनुभयो ।
बैठकमा स्वागत मन्तव्य राख्दै महासंघका सचिव ठाकुर भण्डारीले कोरोनाको विषम परिस्थितिमा पनि महासंघले नियमित रुपमा आफ्ना अभियानलाई अघि बढाइरहेको जानकारी गराउनुभएको थियो । राष्ट्रिय कार्यसमितिको चौथो बैठकले महासंघको नयाँ कार्ययोजनबारे पनि छलफल गर्नेछ ।
नेपालको वन संरक्षणमा अतुलनीय योगदान गरेका सामुदायिक वनमा २२ हजार भन्दा धेरै उपभोक्ता समुहका २९ लाख भन्दा धेरै घरधुरी आवद्ध छन् ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.