प्रेस संगठन नेपालको प्रदेश भेला रुपन्देहीमा
रुपन्देही, ३० माघ (रासस) ः उर्जा जलस्रोत तथा सिँचाइमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका जनसंगठन इञ्चार्ज टोप बहादुर रायमाझीले आफ्नै पार्टीका सर्वसम्मत प्रधानमन्त्रीलाई अपदस्त गर्न खोज्दा प्रतिनिधि सभा विघटन गर्ने अवस्था आएको बताउनु भएको छ ।
पार्टी एकताको म्याण्डेट अनुसार सबै निणर्य सहमतीमा गर्ने भनिए पनि दाहाल-नेपाल समुहले पदको लोभका कारण सहमति विपरित कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधि सभा विघटन गरी जनतामा जाने निणर्य गरेको धारणा राख्नुभयो ।
प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उहाँले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै उहाँले यही गलत क्रियाकलापले दाहाल-नेपाल पक्षलाई सडकमा पुर्याएको बताउनुभयो । “ मैले उहाँहरुलाई गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेत समेत गराएको छु तर मान्नुभएन”, उहाँले भन्नुभयो, “ की आफै जान्नुपथ्र्यो, की भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न ।”
दाहाल-नेपाल पक्षले सरकारमा रहेका केही मन्त्री समुहमा आउँदैछन् भनेर हल्ला फिजाएको चर्चा गर्दै इञ्चार्ज रायमाझीले भ्रममा नपर्न आग्रह गर्नुभयो । “ उल्टो दिशामा हिँडनेहरुसँग केही जाने वाला छैन बरु दाहाल-नेपाल पक्षका धेरै नेताहरु मुल पार्टीमा आउँदैछन् । ”
पछिल्लो समय नेपाली कांग्रेस सहितका दलहरु चुनावको तयारीमा लागेको तर दाहाल-नेपाल पक्ष सडकमै अल्मलिएको बताउँदै उहाँले अब सडकमा अलमलिने समय नभएकाले मुल पार्टीमा जोडिन आग्रह गर्नुभयो ।
भेलामा प्रेस संगठन नेपालका इञ्चार्ज नेकपाका केन्द्रिय सदस्य राजेन्द्र गौतमले राजनीतिक स्थायित्व र मुलुकको हितमा संगठन क्रियाशिल रहेको जनाउँदै सत्यमा आधारित सूचना सम्प्रेषण गर्ने कुरामा जोड दिनुभयो । उहाँले सूचनामा सबै नागरिकको हक स्थापित गर्ने सवालमा कुनै पनि घटना उठान गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
भेलामा बोल्दै प्रेस संगठन नेपालका संयोजक गणेश बस्नेतले अराजकता विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले संबिधान सभाले निर्माण गरेको संबिधान विरुद्ध लाग्नेलाई प्रेस संगठनले समर्थन गर्न नसक्ने जनाउँदै महिला अस्मिता विरुद्ध धावा बोल्नेलाई कलमको माध्यमबाट तह लगाउनुपर्ने बेला भएको बताउनुभयो ।
भेलामा प्रेस संगठन नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल, नेकपा प्रदेश प्रचार विभाग प्रमुख झपेन्द्र जिसी, संगठनका नेताहरु प्रमोद दाहाल, उजीर मगर, बालकृष्ण बस्नेत, गणेश पाण्डे, पार्वती पाण्डे, प्रदेश सह संयोजक प्रदिप आचार्य, रुपन्देही संयोजक अमृत गिरी लगायतले व्यवसायिकता जोगाउँदै संगठनमा एकतावद्ध हुन आव्हान गर्नुभयो । भेलाले प्रदेश कमिटि विस्तार गर्ने र बाँकी रहेका जिल्लामा संयोजक र सहसंयोजक चयन गर्ने छ