तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन महानगरको कार्यालय पनि तिलोत्तमामैं बन्छ ः अर्थमन्त्री पौडेल

 

 

तिलोत्तमा, फागुन २० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गर्नुभएको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उहाँ आफैंले उद्घाटन गर्नुभएको हो ।

आठ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो ।

भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गर्नुभयो । तिलोत्तमा रुपन्देहीकैं केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकाश हुने बताउनुभयो ।

तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै उहाँले नगर प्रमुख, उप-प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गर्नुभयो । तिलोत्तमाले देशभरका पालिकाहरुमा याद गरिने, आश गरिने नगरपालिकाको पहिचान बनाएको बताउँदै अर्थमन्त्री पौडेलले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पार्नुभयो । नयाँ नगरपालिका भए पनि तिलोत्तमाले गरेका कामहरु निकैं प्रभावकारी रहेको चर्चा गर्दै उहाँले यसले विकासको मानक स्थापित गरेको बताउनुभयो ।

रुपन्देही देशमैं विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गर्नुभयो । तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै उहाँले तिलोत्तमा अब अघि नैं बढिरहने बताउनुभयो ।

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूणर् टेवा पुर्याउने उहाँको विश्वास छ । उहाँले रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने गेम चेञ्जर परियोजनाहरुले जिल्लाको मुहार फेर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री छबिलाल विश्वकर्मा, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, बुटवल उपमहानगरपालिका उप-प्रमुख गोमादेवी आचार्य, नेकपाका नेता तथा सोह्र/छत्तीस संयुक्त सिंचाई प्रणालीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी, ईञ्जिनियर प्रदीप वनलगायतले बोल्नुभएको थियो ।

नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता तथा उप-प्रमुख जगेश्वरदेवी चौधरीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन प्रवक्ता सुरेन्द्र श्रीले गर्नुभएको थियो ।

त्यसअवसरमा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक वडापत्रको सुभारम्भ गर्नुभयो । साथैं उहाँले नगरपालिका भवन निर्माण स्थलको जग्गा संरक्षणमा महत्वपूणर् योगदान पुर्याउने कुञ्जलापुरबासीहरुप्रति आभार व्यक्त गर्दै नगरपालिकाले प्रदान गरेको सम्मान-पत्र कुञ्ज टोल विकास संस्थालाई प्रदान गर्नुभयो । यस्तै नगरपालिका परिसरमा राखिएको बुद्धमूर्ति उपहार स्वरुप प्रदान गर्ने मूर्तिकार गोविन्द चौधरीलाई पनि अर्थमन्त्री पौडेलले सम्मान गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.