आज विश्व पानी दिवसः पानीको महत्वबारे जानकारी दिंदै मनाइदै

 

 

काठमाडौं, ९ चैत्र । आज विश्वभर पानी दिवस मनाइदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय,विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरुलाई सजग,सचेत,सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट संघले सन १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रुपमा मनाउन थालेको हो ।

यस बर्षको पानी दिवसको नारा मूल्यवान पानी रहेको छ । स्वच्छ खानेपानीको महत्व हामीले यसका लागि जति मूल्य तिर्छौ, त्यो भन्दा बढी छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनु पर्ने यथार्थलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले यो नारा तय गरेको हो ।
पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसको लागि मात्र हैन, सबै जीव र वनस्पतिहरुको जीवनको आधार हो ।चेतनशील प्राणीका रुपमा मानवको जीवन मात्रै हैन, क्रियाकलापहरु पनि पानीमा निर्भर छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतिपाति र पशुपालन जस्ता कृषि प्रणाली,स्वास्थ्य र आर्थिक क्रियाकलापहरुदेखि हाम्रा धार्मिक एवम् सांस्कृतिक संस्कारहरुमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ ।पृथ्वीको दुईतिहाई भूभाग पानीले ओगटेको भएपनि स्वच्छ पानीका स्रोतहरु कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतहरु समेत प्रदूषित भएका छन् । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनको लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र संघले सन २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाईको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रम अन्तरगतको यो लक्ष्य हासिल गर्न नेपालले १५ औं आयोजनामा पानीका उपलब्ध स्रोतहरुको संरक्षण,सम्बर्धन र किफायती उपयोग गर्ने नीति,रणनीति,कार्यक्रम र योजनाहरु तय गरेको छ । यस अन्तरगत सतहको पानी, बर्षाको आकाशे पानी, सतहमुनिको पानी तीन वटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।

पानी दिवसमा भूमिगत पानीको चिन्ता
विश्व पानी दिवसको पूर्वसन्ध्यामा स्मार्ट वास सोलुसन्सले आइतबार राजधानीमा एक सार्थक गोष्ठीको आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ ।

“मूल्यवान पानीःभूमिगत पानीको महत्व” विषयमा आयोजना गरिएको सो कार्यक्रममा नेपालमा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी, सामुदायिक र निजी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
वाटर एड नेपाल,एसएनभी नेपाल, इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, स्मार्ट पानी र नेपाल नगरपालिका संघको सहयोगमा आयोजित सो कार्यक्रममा वाटर एड नेपालका कविरदास राजभण्डारीले भूमिगत जल पुनर्भरण आयोजनाहरुबाट सिकिएका पाठहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले कुलेसा, पोखरी,इनार आदिका माध्यमबाट सरल प्रविधि, सामान्य जनशक्ति,सामुदायिक सहभागितामा पानीको पुनर्भरण गर्ने प्रयासका सकारात्क नतिजा आएको बताउनुभयो । रानीबारी पुनर्भरण आयोजनाबाट त्यस वरपर भूमिगत पानीको सतह २ सेमी बढेको पाइएको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका भूगर्भ शास्त्र विभागका सहप्राध्यापक डा. मोतिलाल रिजालले भूमिगत पानी पुनर्भरण ः अहिले हामी कहाँ छौ भन्ने विषयमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्दै भूगर्भमा रहेका माटो र चट्टानको प्रकृति अनुसार जमीनको पानी सतहमुनि जाने बताउनुभयो । उहाँले कहि चट्टानको प्रकृति अनुसार पानी माथिल्लो सहतमा फिजिएर बसेको छ भने स्यालो टयूववेलबाट सहजै निकाल्न सकिने र चट्टा छेडेर भित्र पसेको छ भने डिप बोरिड गर्नुपर्ने बताउनुभयो । उहाँले जहाँ जसरी भूमिगत पानी बसेको छ त्यसको पुनर्भरणको लागि पनि त्यस्तै प्रविधि अपनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जलभूगर्भविद् सुरेशराज उप्रेतीले नेपालमा भूमिगत पानीको स्रोत उपयोगसम्बन्धी नीतिगत र संस्थागत व्यवस्था सन २०६८।६९ देखि नै सुरु भएको बताउदै भन्नुभयो,“नेपालमा नीति, ऐन, नियम,कार्यविधि र संरचना नभएका होइनन तर आफ्नो सहुलियत अनुसार परिवर्तन गर्ने कार्य भएकोले तिनको काम प्रभावकारी देखिएन ।” उहाँले नेपालको भूमिगत जलभण्डारको आंकलन गरेर त्यसको नक्सासमेत निस्किएको धेरै भएपनि त्यसलाई अद्यावधिक गर्ने कार्यमा विलम्ब भएको बताउनुभयो ।
उहाँले नयाँ जलस्रोत नीतिले पानीका सवै पक्षलाई समेटेको हुनाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पानीको तथ्यांकआधार सिर्जना गर्ने, यस क्षेत्रका विकास र अनुसन्धान गर्ने, नीति,नियम,कार्यविधिहरु तय गर्ने काम गर्न जल तथा ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो ।
कार्यक्रममा एसएनभीका खानेपानीसम्बन्धी परियोजना प्रमुख रतन भण्डारीले दैलेख र सर्लाही जिल्लाका चार चारवटा पालिकामा खानेपानीको परिमाण,गुणस्तर,पहुँच,प्राप्यता र भरपर्दो सेवा प्रदान गर्न गरिएका प्रयासहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा आकाशे पानीको व्यवस्थापन र भूमिगत पानी पुनर्भरणमा त्यसले पुर्याएको योगदानको बारेमा स्मार्ट पानीका प्रमुख सञ्चालन अधिकृत अनिशा कणर्ले प्रस्तुति दिनुभएको थियो ।
स्थानीय तहबाटै धेरै गर्न सकिने
कार्यक्रमको सामूहिक छलफल शत्रमा खानेपानी तथा ढल ब्यवस्थापन विभागका उपमहानिर्देशक अनिलभद्र खनालले नेपालमा खानेपानीको आपूर्तिका झण्डै आधा अंश भूमिगत पानीबाट आपूर्तिभएकोले यसको पुनर्भरणमा विशेष ध्यानदिन जरुरी भएको बताउनुभयो ।
सामूहिक वहसका अर्का सहभागी धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले संविधानले खानेपानीको क्षेत्रमा काम गर्न स्थानिय तहलाई अधिकार दिएको उल्लेख गर्दै स्थानीय समस्या समाधानमा पालिकाहरुले जिम्मेवारीपूर्वक काम गरेको बताउनुभयो ।
उहाँले पानी समृद्धि जागरुकता ल्याउन आवश्यक भएको बताउदै नेपालको स्वच्छ पानी सिधै हिन्दमहासागर नपठाएर पानीको बहुउपयोग गर्न सुझाव दिनुभयो । उहाँले आफ्नो कार्यकालमा खानेपानी सम्मेलन आयोजना गर्ने,काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा भूमिगत पानीको अवस्थाको अध्ययन गर्ने, खानेपानीको वर्तमान अवस्था र चुनौतिबारे अध्ययन गर्ने,हरेक घरमा खानेपानीको धारा पुर्याउने,वर्षातको पानी संकलन गर्ने र ढलप्रशोधन गर्ने व्यक्ति वा संस्थालाई राजश्वमा छुट दिने, दुईवटा गाँउमा शुद्ध खानेपानी आपूर्तिको व्यवस्था,पानीको महत्वबारे जानकारी दिन पानी चौतारी कार्यक्रमको सुरुआत जस्ता कार्य भएको बताउनुभयो । उहाँले धुलिखेल नगरपालिकाले खानेपानीको क्षेत्रमा गरेका कार्यहरुबारे अष्ट्रेलियाको वेल्स र कणर्ाटकमा पढाई सुरु भएको पनि बताउनुभयो । उहाँले स्थानीय नेतृत्वको अगाडि सरे धेरै काम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा भूमिगत जलस्रोत विज्ञ प्रतापसिंह तातेडले भूमिगत पानीको संरक्षणको लागि सरकारले भूउपयोग नीतिको सही कार्यान्वयन गर्नुपर्ने बताउदै अन्धाधुन्ध शहरीकरणलाई रोक्न पर्ने बताउनुभयो । उहाँले भूमिगत पानी उपयोगको पनि नक्सांकन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योगपति विमललाल केडियाले पानीको किफायति उपयोग गर्नुपर्ने बताउनुभएको थियो ।
स्मार्टवास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहको सभापतित्वमा भएको गोष्ठीमा वासका सञ्चालक हर्कबहादुर क्षेत्रीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य दिनुभएको थियो भने पूर्वमन्त्री गणेश साहले शुभकामना तथा बधाई मन्तव्य दिनुभएको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागकी महानिर्देशक ई.मिना श्रेष्ठले उद्घाटन गर्नुभएको सो कार्यक्रममा एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा एशिया वाटर काउन्सिलका संस्थापक सञ्चालक डा.बिन्दुनाथ लोहनीले विशेष सम्बोधन गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.