सामुदायिक वन र समुदायको अधिकारप्रति सरकार सम्वेदनशिल नभए फेकोफन अान्दोलनमा उत्रने
काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सरकारले सामुदायिक वन र उपभोक्ताको अधिकारलाई सधै अवमुल्यन गरे महासंघ अान्दोलनमा जाने चेतावनी दिनुभएको छ । सामुदायिक वन दिवसका अवसरमा बुधवार अायोजित भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले उपभोक्ताका अधिकार सुनिश्चित गर्न र वनको दिगो व्यवस्थापन र संरक्षणका लागि महासंघ प्रतिवद्द रहेको बताउनुभयो । वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुर्याएको योगदानको चर्चा गर्दै उहाँले सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परा संरक्षण गरेका पनि उल्लेख गर्नुभयो । प्रथाजनित मूल्य मान्यताका आधारमा पनि वन संरक्षणमा समुदायले उल्लेखनीय योगदान गर्दै आएको उहाँको भनाई थियो । नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि विभिन्न विधि, पद्धत्ति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएपनि निरन्तर रुपमा वन विनास भईरहेको स्मरण गर्दै उहाँले सामुदायिक वनका माध्यमबाट वन तथा वातावरण र जैविक विविधताको संरक्षणका साथै सामुदायिक विकास र उद्यम विकासका माध्यमबाट जीविकोपार्जन र समृद्धिमा समेत योगदान हुँदै आइरहेको बताउनुभयो। विगत ५ दशकको अवधीमा नेपालमा अवलम्बन गरिएको सामुदायिक वन अभियानले विभिन्न आरोह अवरोहहरु पार गर्दै आएको बताउदै अध्यक्ष पाठकले सामुदायिक वन उपभोक्ता समूहहरुले नेपालको वन व्यवस्थापनमा एक जिम्मेवार, सशक्त, समावेशी, सुशासनयुक्त र लोकतान्त्रिक नागरिक समाजको रुपमा आफूलाई स्थापित गराउन सफल भएका स्पष्ट पार्नुभयो । त्यस अवसरमा महासंघका उपाध्यक्ष भिमप्रकाश खड्का, महासचिव बिर्ख शाही, सचिव ठाकुर भण्डारी लगायतले सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाइरसका कारण भएको गत वर्षको लकडाउन र यस वर्षको निषेधाज्ञाबाट प्रभावित विपन्न तथा गरिव र सिमान्तकृत एवं बेरोजगार परिवारका लागि खाद्यान्न राहत तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको, संक्रमितहरुलाई क्वारेन्टाइनका लागि सामुदायिक भवनहरु उपलब्ध गराएको, स्थानीय सरकार मार्फत राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएको र प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई सहयोग गर्ने र प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका कार्यमा समेत उल्लेखनीय कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । हाल देशभर २२,४४५ सामुदायिक वन उपभोक्ता समूहले २२,३७,६७० हेक्टर सामुदायिक वन व्यवस्थापन गर्दै आएका छन् । जसमा २९,०७,८७१ घरधुरीहरु संलग्न रहेको बताउदै महासंघले सामुदायिक वनका असल अभ्यास, सिकाई र योगदानहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत आदान प्रदान गर्न र आगामी गन्तव्य तय गर्नमा मद्धत मिल्ने अपेक्षा समेत गरेको छ । २०३० साल श्रावण २५ गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानी उक्त दिनलाई सामुदायिक वन दिवसको रुपमा मनाइदै आएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखि २६ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरि यस वर्ष “सामुदायिक वनको सम्पत्ति : समृद्धि, प्रकृति र संस्कृति” भन्ने नाराका साथ दिवस मनाउँदैछ ।