तिलोत्तमालाई बालमैत्री बनाउन रणनीतिक योजना निर्माण

 

 

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रमहरु भैरहँदा बालमैत्री घोषणापछि त्यसलाई दिगो बनाउन आवश्यक योजना समेत निर्माण गरिएको छ । तिलोत्तमालाई यहीँ मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्नेगरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियानात्मक कार्यक्रम भैरहेका छन् ।

बालमैत्री स्थानीय शासनका सूचकहरुको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणा पश्चात दिगोपनका लागि सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो । त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लव, विभिन्न संघ संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकायलगायत सरोकारवालाहरुले दिएका सुभावकको आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यशालामा सबै वडाका प्रतिनिधिहरुले आफ्नो समग्र वडाको हालसम्मको बालमैत्री वातावरणको अवस्थाको जानकारी गराउनुको साथैं दिगोपनको लागि गर्नुपर्ने कामलाई समेटेर योजना समेत प्रस्तुत गरेका थिए । त्यसक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबेले नगरबासीको सामुहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताउनुभयो । नगर प्रमुख बासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनको लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

तिलोत्तममा बालमैत्री नगरपालिका घोषणाका आवश्यक सूचक पूरा गर्न टोल टोलमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । बाल अधिकारको सन्दर्भमा सचेतना बढाउन छलफल, अन्रक्रिया, र्‍याली, सडक नाटक, पर्चा पम्प्लेट तथा ब्यानर टाङ्ने लागायतका कार्यहरु भएका छन् ।

बालमैत्री स्थानीय शासन; बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।

यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूणर् बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ ।

“बालमैत्री स्थानीय तह” भन्नाले अर्थपूणर् बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरिएको गाउँपालिका वा नगरपालिकालाई जनाउँछ । रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.