बुटवलमा श्रम बैंक सञ्चालन,बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने

 

बुटवलमा श्रम बैंक सञ्चालन

बुटवल । सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न रूपन्देहीको बुटवल उपमहानगरपालिकाले श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको सुरुवात गरेको छ । बेरोजगार नागरिक र रोजगारदाताहरु बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । रोजगार चाहने नागरिकले देश वा देश बाहिर रहेको अवस्थामा पनि बुटवल रोजगार डटकम’ मा गई अनलाइन फर्म भर्न सक्ने छन् । उक्त फर्म भर्दा आफ्नो क्षमता, आफूले चाहेको रोजगार तथा अपेक्षा गरेका सेवासुविधा सबै खुलाएर आवेदन दिन सक्ने छन् । नगरप्रमुख सुवेदीले श्रम बजारमा बेरोजगार रहेका नागरिकहरुको पहिचान गरी यहाँका उद्योग, कलकारखाना तथा व्यापार व्यवसायलगायत रोजगार दाता संस्थाहरुका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन श्रम बैंकले सहयोग गर्ने बताउनुभयो । स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना र सञ्चालन भइराखेका छन् । जसले रोजगार प्रत्यासी र रोजगार प्रदाय का बीचमा रोजगार सम्बन्धी सम्पूणर् सूचना र जानकारीको विवरण उपलब्ध गराउन सेतुको काम गर्ने मेयर सुवेदीले बताउनुभयो । स्थापना गरिएको श्रम बैंकमा गएर बेरोजगार नागरिकहरुले आफ्नो विवरणसहित आफूले गर्न चाहेको कामको बारेमा खुलाएर आवेदन दर्ता गर्न पाउने छन् । रोजगार दाताहरुले आफ्ना लागि आवश्यक जनशक्ति यही पोर्टलमार्फत माग गर्न सक्ने छन् । यो पोर्टलको सुरुवातसँगै यहाँको बेरोजगारीको समस्या समाधान हुनुका साथै जनशक्तिको अभाव नहुने अपेक्षा व्यक्त गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यले श्रम बैंकको स्थापनासँगै रोजगार र जनशक्तिको व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उप प्रमुख आचार्यले उपमहानगरलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि यसले सहयोग पुग्नेबताउनुभयो । सहयोगी संस्थाका रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले नयाँ अभ्यासको सुरुवात गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । सञ्चालनमा आएको रोजगार पोर्टलले यहाँ रोजगारदाताहरुले विदेशी कामदारको भर पर्नुपर्ने तथा जनशक्ति अभावको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । पोर्टलबाट टे्रड युनियन कांग्रेसका नेता कृष्ण बेल्बासेले बेरोजगार जनशक्तिले आफ्नो क्षमताअनुसारको रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख गर्नुभयो । रोजगार बैंकबारे जानकारी गराउँदै प्राविधिक मनोज पौडेलले हालसम्म पोर्टलमा २ हजार बढी रोजगार चाहनेहरुको डाटा राख्ने काम भइसकेको जानकारी गराउनुभयो । यसैगरी रोजगार दाता निकायले आफूलाई आवश्यक जनशक्तिलगायत सबै विषय खुलाएर जनशक्ति माग गर्न सक्ने छन् । यसरी रोजगार दाता र रोजगार चाहनेहरुले यो बैंकमार्फत सम्पर्क स्थापना गरी फाइदा लिन सक्ने प्राविधिक पौडेलले जानकारी दिनुभयो । रोजगार संयोजक अरविन्द्र पाण्डेले समृद्ध बुटवल बनाउनको लागि रोजगारी बैंक निकै प्रभावकारी बन्ने बताउनुभयो । उनले यूवा इलम कार्यक्रमबाट सीप सिकेका, प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएका करिब ३ हजारले ज्यालादारीमा रोजगार पाएको बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.