बुटवल, चैत १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूणर् पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् ।
टावरको मंगलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा दिन नचाहेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले अघिल्लो सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला यो सरकारले आयोग खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाई छ । जनप्रतिनिधिहरु स्वच्छ र पारदर्शी हुनुपर्ने सुझाव दिंदै ओलीले आवश्यकता अनुसार टोल टोलमा विकास पुराउनुपर्ने बताउनुभयो । खाद्यान्नमा आत्मनिर्भर हुनु सबैभन्दा महत्वपूणर् विषय भएकोमा जोड दिंदै ओलीले जमिन बांझो राख्न नपाइने तिलोत्तमाको नीति सबैले अनुशरण गर्नुपर्ने सुझाव दिनुभयो । पर्यटकीय महत्वका ठाउंहरुको प्रचार आकर्षक ढंगले गर्नसके मात्र पर्यटन प्रवद्र्धन हुन सक्ने ओलीले सुझाव दिनुभयो ।
टावरमा होटल, रेष्टुरेन्ट, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा समेत उपलब्ध हुनेछ । टावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाएको छ ।
एघार तले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलन्यास गर्नुभएको थियो । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रहेको छ ।
टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना समेत निर्माण हुनेछन् । लिफ्ट सुविधा सहित बनेको टावरसँगै दुई विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम धमाधम अघि बढेको छ । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिँदै छ ।
त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको नगरपालिकाका इञ्जिनियर प्रदीप वनले बताउनुभयो । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने जनाइएको छ ।
टावरको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमालेले सरकारको नेतृत्व गरेको समयमा विकास निर्माण, सामाजिक सशक्तिकरणका विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभयो । भूमिहीनलाई पूर्जा दिन एमाले नेतृत्वको सरकारले काम अघि बढाएको बेला वर्तमान सरकारले त्यसमाथि पहिलो प्रहार गरेको बताउँदै उहाँले भन्नुभयो, ‘भूमिहिनलाई लालपूर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन् अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस् ।’ मन्तव्यको अधिकांश समय स्वास्थ्य, शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमूना कामको प्रशंसा गर्नुभएका एमाले अध्यक्ष ओलीले नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उहाँले भान्सालाई औषधालयको रुपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवद्र्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै उहाँले यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गर्नुभयो । उपलब्ध स्रोत साधनलाई नयाँपन र राम्रो बनाए पर्यटन प्रवद्र्धन गर्न सकिने पूर्वप्रधानमन्त्री ओलीको भनाइ छ । आफ्नै जीवनकालमा आफैसँग भएका स्रोतसाधन प्रयोग गरे विकासको लहर बनाउनुपर्ने भन्दै ओलीले भन्नुभयो, ‘हिमाललाई हामीले फोहोर नगरे मात्र हुन्छ, अब हाम्रो भान्सामा विषादियुक्त खाना नपुगोस्, भन्ने अठोट गर्नुहोस् अब यसमा ध्यान दिऔं, चिन्तनमै फरक ल्यायौं भने हामीले सुरु गरेका विकासका कामबाट केही समयमै देश कायापलट हुन्छ ।’
नगर प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूणर् स्रोत पनि हुने बताउनुभयो । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्री एवं संघीय सांसद विष्णुप्रसाद पौडेल, राष्ट्रियसभाका सदस्य गोपाल भट्टराई, पूर्व मन्त्री एवं प्रदेश सांसद लिला गिरीलगायत प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रमको अवसरमा तिलोत्तमा दर्पण नामक पुस्तक, डकुमेन्ट्री, गीतको विमोचन समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रवक्ता सुरेन्द्र श्रीले गर्नुभएको थियो ।