भैरहवा, २० कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले रुपन्देहीको विकासका लागि विकासप्रेमी नेता दीपक बोहराले धेरै काम गर्नुभएको बताएका छन् । उनले बोहरा ‘टुरिष्ट नेता’ नभएको दावी गरे ।नेकपा एमाले, राप्रपा र जसपाले रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले विकासप्रेमी नेता बोहराको योगदानको बारेमा सबै जानकार भएको बताए ।उनले देशको विकासका लागि तीनदलीय तालमेललाई जिताउनुपर्ने बताए । उनले एमाले राष्ट्रवादी शक्ति भएकाले राप्रपाले एमालेसँग तालमेल गरेको बताए । उनले भने, ‘तीनदलीय तालमेलको प्रधानमन्त्री केपी ओली हुने कुरामा विवाद छैन, तर पाँचदलीय गठबन्धनबाट को प्रधानमन्त्री बन्ने निश्चित छैन । ’ उनले निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग हुन सक्ने भएकाले सजग हुनुपर्ने बताए ।त्यस्तै नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम आउने बताए । उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्नेमा जोड दिए ।त्यस्तै बुटवल उपमहानगरपालिका-१४ स्थित विनायकपुरमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार प्रदीप कुमार उदयले दीपक बोहरा विकासका पूर्वाधार तयार गर्ने व्यक्तिका रुपमा चिनिने नेता भएको बताए । उनले गठबन्धन सरकार आएपछि राष्ट्रघातको श्रृंखला सुरु भएको दावी गरे । नेता उदयले नेपाली कांग्रेसले सधै सत्ता केन्द्रीत राजनीति गरेको आरोप लगाए ।