रुपन्देही–५ मा यस कारण नयाँ नेतृत्वको खोजी

डी.आर.घिमिरे

रुपन्देही जिल्लाको क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरे र गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका भरतकुमार शाह प्रतिष्पर्धामा हुनुहुन्छ । शाह तेश्रो पटकका लागि चुनावी मैदानमा हुनुहुन्छ भने घिमिरे पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार भएकाले यो पटक कसले बाजी मार्छ भनेर उत्सुकतापूर्वक हेरिएको छ ।

अहिले जनताको मनोविज्ञान नयाँ अनुहारतर्फ आकर्षित छ । संसदीय चुनावमा जनप्रतिनिधिको फेरिएको स्वाद लिने चाहना सो क्षेत्रमा देखिन्छ । त्यसोत कामले गति लिन सकेको भए पुरानो भनेर मात्र हुँदैनथ्यो । तर, भरत शाहले गरेका देखिने काम पाउन बडो मुस्किल परेको अनुभूति बोकेर प्रचारमा हिड्नेलाई बडो सास्ती खेप्नु परेको छ ।

त्यसोत बासुले के गर्नुहुन्छ गर्नुहुन्न यसै भन्न सकिदैन । कुरा यति मात्र हैन बासु सो क्षेत्रका बासिन्दा पनि होइन  । लुम्बिनी क्षेत्रका जनताका लागि पूरै नयाँ पात्र हुनुहुन्छ । तर, उहाँले तिलोत्तमा नगरको मेयरका रुपमा जे जति काम गर्नुभयो , त्यसले  उहँँको ब्यक्तित्वमा निखारपना आएको छ । विकासे प्रतिनिधिको रुपमा स्थापित गरेको छ । यस अर्थमा उहाँ रुपन्देहीका लागि चिनाउन पर्ने ब्यक्ति रहनुभएन ।

दलीय चुनावमा पार्टी र ब्यक्ति दुवैको भूमिका महत्वपूर्ण रहने गर्छ । यस वीचमा पार्टीको रुपमा नेकपा एमालेले जे गर्यो त्यो नै बासुका लागि महत्वपूण आधार हो । एमाले सरकारमा रहँदा सम्पूर्ण रुपले सो क्षेत्रको विकासमा राष्ट्रिय सभाका तत्कालिन प्रमुख सचेतक युवा नेता खिमलाल भट्टराई, प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले मनग्गे काम गर्नुभएको छ ।

जनताका असल जनप्रतिनिधिको परिचय भनेको दुःखसुखमा साथमा रहनु हो । बिकासका काममा अगुवाई गर्नु हो । यसवीचमा सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि नभएपनि सो क्षेत्रमै हुर्के बढेका बिद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा उदाएका युवा नेता खिमलाल भट्टराईले लुम्विनी क्षेत्रको असल अभिभावक बनेर उधुमनै गर्नुभयो । खासमा जनताका प्रतिनिधिले गर्नुपर्ने काम सम्पूर्ण रुपले तनमनका साथ निर्वाह गर्नुभयो । सरकारबाट ल्याउनुपर्ने वजेट मनग्गै ल्याउनुभयो । नेकपा एमालेको उपस्थितिनै नरहेका ठाउँमा ब्यापक संगठन वनाउनुभयो र स्थानीय निर्वाचनमा पनि अनपेक्षित परिणाम दिलाउनुभयो ।

विगतका चार वर्ष हरेक हप्ता जस्तो उनी लुम्विनी क्षेत्रमा आउजाउ गर्नुहुन्थ्यो । एक अर्थमा प्रतिनिधिसभाको भावी सांसदका रुपमा भट्टराई चिनिनुभएको थियो  परिस्थितिले कोल्टे फेर्यो । उहाँ जे चाहानुभएको थियो त्यो भएन । कसैको नियत उहाँलाई नगराउने भन्ने पनि थिएन तर, ग्रहदशा भन्छन् नि हो, त्यस्तै भयो । उहाँले टिकट पाएर पनि उम्मेदवार हुन सक्नुभएन ।

उता बासुदेव घिमिरे आफ्नै क्षेत्रबाट सांसद हुन चाहनुहुन्थ्यो । संयोग राप्रपाबाट दीपक बोहोरालाई समर्थन गर्नुपर्ने अवस्था बन्यो । उहाँ खेलबाट बाहिरिनुभयो । तर, फेरि ग्रहदशा  उहाँको पक्षमा सोझियो । अकस्मात् बासुदेव ५ नं. क्षेत्रबाट उम्मेदवार बन्नुभयो । खिमलालले मेहनतपूर्वक जोतेको उर्वर क्षेत्र वासुले प्राप्त गर्नुभयो । खिमलालले जित हासिल गर्ने क्षेत्र बनेको सो क्षेत्रमा केही समय शंका उपशंका भए । एमाले कार्यकर्तामा जोशजाँगर नै आएन । तर, बिस्तारै सवै ठिकठाक भयो ।

हण्डर ठक्कर जतिसुकै खाएर पनि एमाले कार्यकर्ताहरुमा उत्साह चुलिदै गयो । आखिरमा बासुदेव निर्वाचनको नजिक आइपुग्दा जितको धेरै नगिच पुग्नुभएको छ ।

भनिन्छ चुनाव जित्न धेरै पक्षको संयोजन हुनुपर्छ । यसमा उम्मेदवारको ब्यक्तित्व पनि मुखरित हुनुपर्छ । बिगतको कामबाट कति प्रभाब पार्न सकियो त्यो पनि कम महत्वको हुँदैन । प्रतिष्पर्धी उम्मेदवारको ब्यक्तित्व, चरित्र, आनीवानी, अवसरलाई उपयोग गर्ने कला, उसले खडा गर्ने उत्तराधिकार यी सवै पक्षले पनि काम गर्छ । यसरी हेर्दा भरतकुमार शाह पुराना भएकाले विगतको काम गराई, जनताको दुःखसुखमा साथ दिए नदिएको विषयलाई हेर्दा शाह कमजोर पात्र देखिनुहुन्छ ।

उहाँले बिकासे काममा खासै योगदान गर्नुभएको छैन  । बासुदेव जस्तै उहाँ पनि सो क्षेत्रका रैथाने हुनुहुन्न । तर पर्याप्त अबसर पाएर पनि जनताको मन बुझाउन शाहले सक्नुभएको छैन । कम्तिमा शाहले केही गर्नुहुन्छ् भन्ने अपेक्षा सो क्षेत्रमा गर्न छाडिएको छ । पार्टी क्याडरहरुमा पनि शाहलाई संसयका साथ हेर्न थालिएको छ । जसको कारण छुट्टै छ । सत्ता हस्तान्तरणका सन्दर्भमा भरतले यसपछि श्रीमति अनिता शाहलाईनै तयार गर्नुभएको छ  । पार्टीको जिल्ला अधिवेशनमा बालकृष्ण खाँणसंग मोलमोलाई गरी उपाध्यक्षको रुपमा उभ्याउन सफल भएकोले यसलाई अन्यथा भन्न मिल्दैन ।

राजनीतिमा योग्यता र क्षमताको कुरा गर्दा उनी अनुचित पात्र हुँदै होइन । चुनावी रणनीति बनाउनेदेखि जनतासँग सम्वन्ध बढाउने काममा उहाँकै भूमिका रहने गरेको छ । तर कार्यकर्ताको पिडा भनेको कतिन्जेल शाह परिवारको झोला बोक्ने भन्ने हो ।

उता बासुदेव विकासे कार्यकर्ताको रुपमा परिचित हुनुहुन्छ । जे अवसर पाउनुभयो त्यसलाई उहाँले भरपुर उपयोग गर्नुभयो । तिलोत्तमा नगर दुइपटक पुरस्कृत भयो । बासुदेवले के गर्नुभयो के गर्नुभएन  भनेर फेहरिस्त दिनुपर्ने छैन । मुख्यरुपमा उहाँले  नेपालमै तिलोत्तमा मोडल स्थापित गर्नुभयो । तिलोत्तमाको ब्राण्डिङ्ग गर्नसक्नु उहाँको ठूलो सफलता थियो । यहाँसम्ममी काठमाडौँ महानगरका मेयर बालेन शाह निर्वाचन अघिनै तिलोत्तमा आएर काम गर्ने तरिका सिक्नुभएको थियो । त्यसैलेत अहिले आन्तरिक रुपमा बालेन समुहको समर्थन बासुदेवलाई रहेको पाइन्छ ।

भरत शाह कुलिन परिवारका सदस्य हुनुको नाताले सामान्यतः जनतालाई हेपेर बोल्ने गर्नुहुन्छ । यो उहाँको खानदानीया स्वभाव हो । यसबाट उहाँ रुपान्तरित हुन सक्नुभएन । नमस्ते गर्दा टाउको हल्लाउने, तँ भनेर सम्वोधन गर्ने, फोहोरी शब्दको प्रयोग असाध्यै बढी गर्ने, चुनाब बाहेक अन्य समयमा पटक्कै वास्ता नगर्ने स्वभाव शाहका विशेषता हुन् । शाह पुराना अनुहार हुन् । त्यसैले नयाँ अनुहारको खोजी गर्ने मत अहिले उहाँको बिपक्षमा छ । नेपाली कांग्रेसका युवाहरुनै नयाँ पात्र चाहिन्छ भन्दैछन् । मधेसी युवाहरु विकासका लागि बासुदेव चाहिन्छ भन्दैछन् । स्वयं बासुदेव सो क्षेत्रलाई परिवर्तनको सन्देश प्रवाह गर्न खोज्दैछन् ।

कुरा यति मात्र हैन जसपाबाट कैयौं ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सीके राउतको जनमत पार्टीले पनि प्रतिनिधिसभामा एमालेका सूर्यध्वजावाहकलाई नै समर्थन गर्दैछन् । मुस्लिम समुदाय भरत शाहसंग असन्तुष्ठ रहेको देखिन्छ । यसको कारण उनले मुसलमान समुदायका समस्याप्रति बेवास्ता गर्नु हो । यस वीचमा मुस्लिम समुदायले खिमलाल भट्टराईबाटै संरक्षण पाए र भरोसा पनि । यी र यस्ता कैयन् पक्ष छन् जसले बासुदेवलाई विजयको नजदिक पुर्याएको पाइन्छ ।

प्रदेशसभाको हकमा अलिक फरक अवस्था देखिन्छ । खासगरी ५(क)मा  बिगतमा प्रदेश सरकारको श्रोतलाई अधिक प्रयोग गर्न सकेका कारण भूमिश्वर ढकालका लागि अनुकुल वातावरण छ ।  ढकाल स्थानीय ब्यक्ति हुनुहुन्छ । बिहान साँझ जतिसुकै बेला दुःख सुखमा सहयोगी हुनसक्ने र आजपर्यन्त भइरहेका कारणले पनि अनुकुल वातावरण बनेको हो । त्यसवाहेक नेकपा एमालेको संगठनात्मक अवस्था असाध्यै बलियो भएकाले पनि उहँँलाई कसैले चुनौति दिनसक्ने अवस्था रहेन । टिकट वितरणमा उहाँलाई कसैसंग प्रतिस्पर्धा गर्नुपरेको थिएन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.