राजेश राइ
प्रदीप ज्ञवालीले नेपाली राजनीतिमा अलग, अग्लो र उज्यालो पहिचान बनाएका छन् । बौद्धिक, विनम्र र विवादमुक्त नेता प्रदीपले गुल्मीको विकासमा पनि नयाँ पदचाप बनाएका छन् । गरेका कामको फेहरिस्त र गर्ने कामको मार्गचित्र बोकर उनी मैदानमा छन् ।
२०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले तम्घास नगरपालिकाको सिमीचौरमा रेसुंगा विमानस्थल शिलान्यास गरे । पश्चिमको पहाडी जिल्ला गुल्मीमा हवाईसेवाको आवश्यकता देखेर ज्ञवालीले यो पहलकदमी लिएका थिए । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र जिल्लाबासीलाई हवाई सेवाको सुविस्ता दिने उद्देश्यले उक्त विमानस्थल शिलान्यास गरिएको हो ।
जग्गा अधिग्रहण, बजेट अभावलगायत कारण विमानस्थल निर्माणले गति लिएन । २०७० को निर्वाचनमा प्रदीप पराजित भए । प्रदीपको विमानस्थल सपना बेवारिसे भयो । त्यो बेला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कागजको विमान बनाएर ‘प्रदीप ज्ञवालीको विमानस्थल’ भन्दै उडाए । रेसुंगामा विमानस्थल बनाइछाड्ने प्रतिज्ञा थियो, प्रदीपको । तर, उनको सपनालाई कांग्रेसले कागजको विमानमा उडाइदियो ।आफ्नो प्रतिबद्धता र प्रतिज्ञालाई हावामा कागजको विमान बनाएर उडाइदिँदा कम्ती पीडा भएन प्रदीपलाई । थाकेनन् उनी। २०७४ को निर्वाचनमा प्रदीपले फेरि चुनाव जिते । एमाले अध्यक्षको नेतृत्वमा सरकार बन्यो । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री । आफ्नो अधुरा काम पूरा गर्न सजिलो भयो उनलाई । अन्ततः रेसुंगा विमानस्थल बन्यो ।
२५ जेठ २०७५ मा परीक्षण उडान भयो । विश्वव्यापी कोरोना महामारीको असरबीच २०७९ वैशाखमा विमानस्थल बन्यो । अहिले विमानस्थल नियमित उडानका लागि तयार छ । कागजको विमान बनाएर प्रदीपको प्रतिबद्धतालाई खिसिट्युरी गर्नेहरू अझै थाकेका छैनन् । उनीहरू भनिरहेका छन्, ‘खोइ त, प्लेन ?’ यसको उत्तर उसैगरी कामले दिने गरी मनको एउटा कुनामा राखेका छन्, उनी ।
नेकपा (एमाले)का विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उपमहासचिवको जिम्मेवारीमा पुगेका प्रदीप २०३४ देखि निरन्तर राजनीतिमा छन् । भूमिगत कालमा संगठन गर्दा कालीगण्डकीको किनारमा धेरै पटक ओहोदोहोर गरे, प्रदीपले । उतिबेला कालीगण्डकीको तीरमा राज्यको भन्दा पनि भूगोलको त्रास बढी थियो । माथि ठूलो भीर, तल उर्लिरहेको कालीगण्डकी । त्यही बीचबाट रुखका लहरा समाउँदै हिँड्नुपथ्र्यो । एक हिसाबले जिन्दगीलाई दाउमा राखेर हिँड्नुपर्ने कष्टकर सडक थियो । कालीगण्डकी क्षेत्रका जनता यो बाध्यतामा अभिसप्त थिए । भूमिगत कालमै प्रदीपलाई लागेको थियो, ‘यो कालीगण्डकीको तीरमा राम्रो बाटो भए कति आनन्द हुन्थ्यो ?’ उनको त्यो सपना थियो ।
अहिले विमानस्थल नियमित उडानका लागि तयार छ । कागजको विमान बनाएर प्रदीपको प्रतिबद्धतालाई खिसिट्युरी गर्नेहरू अझै थाकेका छैनन् । उनीहरू भनिरहेका छन्, ‘खोइ त, प्लेन ?’ यसको उत्तर उसैगरी कामले दिने गरी मनको एउटा कुनामा राखेका छन्, उनी ।
त्यो सपना २०५७ मा उनले विपनामा रुपान्तरण गरे । आफैंले २०५७ मा कालीगण्डकी करिडोर शिलान्यास गरे । भन्छन्, ‘पछिल्लो समय मात्रै कालीगण्डकी करिडोरका लागि ५ अर्बको बजेट विनियोजन गरियो।’ अहिले कालीगण्डकी करिडोरमा दोहोरो गाडी चल्छन् । कालीगण्डकी तीरमा दोहोरो गाडी चलेको देख्दा उनी रोमाञ्चित बन्छन् । भन्छन्, ‘आफ्नो संकल्प पूरा हुँदाको आनन्द शब्दमा अभिव्यक्त गर्न सकिँदैन ।’ कालीगण्डकी करिडोर निर्माणपछि कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका हजारौं नागरिकको जिन्दगीमा आमूल परिर्वतन आएको छ ।