प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेको अपिल !(भिडियोसहित)

 

आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु ! हार्दिक नमस्कार ! यहीँ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म बासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट साझा उम्मेदवार रहेको यहाँहरुलाई जानकारी नैं छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी समेत रहेको क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन पाउँदा म निकैं हर्षित छु । यस पवित्र पावनभूमिको सेवक बनेर यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, कृषि, पूर्वाधार, वातावरण, सामाजिक सशक्तिकरणलगायतका क्षेत्रमा रहेका तमाम समस्या समाधान गर्ने मेरो तीव्र इच्छा र चाहना छ ।

(भिडियोसहित)

म पहिलो नगर प्रमुख भएर तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको अनुभवलाई क्षेत्र नं. ५ को समग्र विकासमा लगाउन चाहान्छु । विकासको ठूलो सम्भावना बोकेको क्षेत्र नं. ५ लाई तिलोत्तमा जस्तै सुन्दर, सफा, विकासमा नमूना क्षेत्र बनाउने मेरो स्पष्ट योजना छ । यहाँका अव्यवस्थित बसोबासी, भूमिहीन दलित, सुकुम्बासीलाई भूमिको मालिक बनाउनेदेखि किसानले कयौं वर्षदेखि भोग्दै आएको सिंचाई, मलखाद, कृषि उपजको बजारीकरण सम्बन्धी समस्या समाधान गर्ने विषयलाई मैले प्राथमिकताका साथ समाधान गर्नेछु । लुम्बिनीलाई केन्द्र भागमा राखी यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्दै तालतलैया, नदीनाला, मठ मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, मदरासाको विकासमा ध्यान दिनेछु । यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल, प्राविधिक शिक्षालय, क्याम्पस निर्माण, सडकहरुको स्तरोन्नती, बेरोजगारी समस्या समाधान, महिला तथा युवाहरुको सशक्तिकरण, कक्रहवा नाकाको स्तरोन्नती, ज्येष्ठ नागरिकको सम्मानलाई मैले मेरो प्रतिबद्धतामा समेटेको छु । लोकतन्त्रका आधारभूत मूल्यमान्यता, बहुलवादी खुला समाज, मानव अधिकार, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै विधिको शासनप्रति पूर्णप्रतिबद्ध रहँदै लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिको रुपमा स्थापित गर्ने कुरामा म सधैं प्रयत्नशील रहनेछु । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नागरिकले गर्न सक्ने गरी काम गर्न म तयार छु । यस क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न म दृढ छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग मात्र होइन अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा पनि यहाँ विकासका तमाम काम गर्न सकिने सम्भवानाहरु छन् । यी सम्भावनाहरुलाई साकार बनाउँदै क्षेत्र नं. ५ का बासिन्दाको आर्थिक, सामाजिक जीवनस्तर माथि उठाउन म सधैं प्रयत्नशील रहनेछु । मलाई थाहा छ—यहाँका युवा, विद्यार्थी, किसान, उद्योगी, व्यवसायीलगायत सबै नागरिकले देखिने, महशुस गर्न सकिने परिवर्तन खोज्नु भएको छ । म तपाईंहरुले चाहेजस्तो देखिने गरी विकासका काम गर्न तयार मात्र होइन यो क्षेत्रको विकासको सम्पूर्ण जिम्मेवारी लिँदै यहाँका थारु, मुस्लिम, मधेशी, दलित, जनजातिलगायत सम्पूर्ण समुदायको अगुवाको रुपमा काम गर्न चाहान्छु । तपाईंहरुको सुख दुःखमा एकाकार भएर यो क्षेत्रको मुहार फेर्ने मेरो तीव्र इच्छा र चाहाना छ । आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु ! म कुरामा होइन, काममा विश्वास गर्ने व्यक्ति हूँ । कार्तिक १७ देखि सुरु भएको छोटो चुनावी प्रचारप्रसारको क्रममा म सबै मतदाताको घरदैलोमा पुग्न सकिन । समयको पावन्दीले यस्तो भएको हो भन्ने कुरालाई यहाँहरुले बुझ्नु हुने नैं छ । मतदानको संघारमा आइपुग्दा म तपाईंहरुसँग पुनः सूर्य चिन्हमा मतदान गरी विजयी गराउनु हुन सम्पूर्ण मतदातामा हार्दिक अपिल गर्दछु । तपाईंहरुको अमूल्य मतबाट म संघीय सांसद बन्दा कसैलाई पश्चताप हुने कुनै पनि प्रकारको काम गर्ने छैन । यहाँका नागरिकको शीर सधैं उँचो बनाउने काम गर्नेछु । यहाँका बासिन्दाको सर्वोपरि हीत, विकास निर्माणमा पूर्णतः प्रतिबद्ध रहनेछु । अन्तमा, मलाई चिन्नुहुने, जान्नुहुने वा यो अपिल सुन्नुहुने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु समेतलाई आ—आफ्नो तर्फबाट क्षेत्र नं. ५ मा रहनुहुने आफन्त, ईष्टमित्र, बन्धुबान्धवहरुलाई मंसिर ४ गते हुने निर्वाचनमा मलाई मत मागिदिनु हुन समेत हार्दिक अपिल गर्दछु । धन्यवाद !

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.