स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र सँस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण तथा पर्यटन प्रबर्द्धन

 

बुटवल । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’- भन्ने मूल नाराकासाथ बुटवलमा पौष ७ गतेदेखि सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रुपन्देही उद्योग संघको मुख्य आयोजनामा हुन लागेको महोत्सव बारे जानकारी गराउन मेला स्थलमा पत्रकार सम्मेलन गरि तयारी अन्तिम चरणमा पुगेको जानाकारी दिएको होे ।
बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न १० वटा पेभेलियनमा ४५० स्टल सहभागी हुने आयोजकले जनाएको छ । स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र सँस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवमन युवा उद्यमीलाई प्रोत्साहन तथा स्वरोजगार सृजनाका लागि गोष्ठी तथा अन्तरक्रिया समेत गरिने संघका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टलहरु सहभागी हुने छन् ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेजका प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडिएल लगाएतका प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौ समेत आयोजक रहेको महोत्सवमा ७ लाख बढी दर्शकले अवलोकन तथा २५ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । पौष ७ देखि १९ गतेसम्म सञ्चालन हुने मेलामा विद्यार्थीका लागि ५० तथा अन्यका लागि ६० रुपैया प्रवेश टिकटको व्यवस्था गरिएको छ ।

बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक गर्न लागेको प्रर्दशनीमा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने आयोजकको दाबी छ । यस पटकको आयोजना स्थल नै प्रमुख आकर्षणको केन्द्र बन्ने भएको छ ।

प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग सिधा सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा मुग्ने नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले दाबी गर्नुभयो । रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका आलमले संघले २०४५ सालमा पहिलो पटक र २०५३ सालदेखि निरन्तर प्रदर्शनी आयोजना गर्दे आइरहेको बताउनुभयो ।
प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति लगायतका ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.