उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड राष्ट्रपति भण्डारी

 

बुटवल- राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको बताउनु भएको छ । उहाले राज्यका निकायहरूको ध्यान उद्यमी र किसानहरू हितमा जानुपर्नेमा जोड समेत दिनुभएको छ ।
बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।
स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको भन्दै राष्ट्रपति भण्डारीले वर्तमान अवस्थामा देशको राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको भन्दै व्यापार घाटा र आयातमाथि हाम्रो निर्भरता विस्तारले विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको बताउनुभयो । यी चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने उहाँको जोड छ ।
“राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक रहेको पनि बताउनु भयो ।े भन्नुभयो ।
हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी-व्यवसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड-१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईंहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको भन्दै सरह्ना गर्नुभयो । हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेको बताउँदै उहाँले जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको उल्लेख गर्नुभयो ।
बुद्धका उपदेशको सार पनि निःस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यताका यिनै मार्गदर्शनसमेतलाई आधार मानेर हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकाले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको उहाँको भनाइ थियो ।
उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ सङ्गमस्थल बनाउन व्यक्तिगत तथा संस्थागत साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण लुम्बिनी प्रदेशको पर्यटनलगायत समग्र आर्थिक विकासमा समेत महत्त्वपूणर् योगदान पुग्ने बताउँदै मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरूले अन्य क्षेत्रको समेत भ्रमण गर्ने सम्भावनाहरूको खोजी गर्नुपर्ने धारणा राख्नुभयो ।
पछिल्ला दिनमा लुम्बिनी प्रदेशका आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाहरूको सहभागिता र नेतृत्वले धेरै सकारात्मक सन्देश दिएको बताउँदै राष्ट्रपति भण्डारीले महिलाको व्यावसायिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा आर्थिक एवं मानवीय लगानी बढाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो । उहाँले उद्यमी महिलालाई अझ मेहनत गर्दै स्वावलम्बी बनेर अगाडि बढ्न आह्वान गर्नुभयो ।
नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई सचेतना जगाउने उद्देश्यले प्रदर्शनी आयोजना हुनु खुसीको कुरा भएको बताउँदै उहाँले प्रदर्शनीले स्वदेशी उत्पादनको व्यावसायीकरणका लागि मद्दत मिल्ने बताउनुभयो ।
उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपालमा औद्योगिक वातावरण निर्माणका लागि सरकार संवेदनशील बन्ने बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीले उद्योगीका समस्या उजागर गर्ने काम गरेको जनाउँदै समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

बुटवलमा औद्योगिक प्रदर्शनीको लामो सिलसिला छ । यहाँका उद्योग सङ्घ, व्यापार सङ्घ र वाणिज्य सङ्घको प्रयत्नमा स्थायी संरचना बनेको छ, अब यो छिट्टै निर्माण हुनेछ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।
उद्योगी व्यवसायीका समस्या समाधान गर्ने सबैको साझा दायित्व भएको बताउँदै उहाँले नयाँ सरकारको पहिलो प्राथमिकता आर्थिक गतिशीलता हुने र उद्योग व्यवसायको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । उद्योगी व्यवसायीको संवर्द्धन नै सबै दलको साझा दायित्व भएको उहाँको भनाइ छ ।
उद्योगी व्यवसायीले ब्याजदर तिर्न नसक्ने अवस्था सृजना भए त्यसको असर बैंक तथा वित्तीय संस्थामा पर्ने जनाउँदै गृहमन्त्री खाणले ब्याजदर घटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले ब्याजदर घटाउन सरकारले नीतिगत हस्तक्षेप गर्ने बताउनुभयो । साथै उहाँले संवादको माध्यमबाट समस्या हल गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई गौरवमय सहरका रूपमा विकास गर्न नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन सबै राजनीतिक दल, उद्योगी व्यवसायीको सहकार्य रहेको उल्लेख गर्दै कानूनी अड्चन फुकाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
उद्योग परिसङ्घ लुम्बिनीका अध्यक्ष एजाज आलमले अहिले उद्योगहरूको अवस्था दयनीय बन्दै गएको बताउनुभयो । विसं २०४५ देखि हाटबजारबाट उद्योग सङ्घले प्रदर्शनी सुरुआत गरेको जनाउँदै उहाँले अहिले स्थायी संरचनामा प्रदर्शनी आयोजना हुनु सुखद विषय भएको बताउनुभयो ।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले कोरोना सङ्क्रमणका कारण थलिएको अर्थतन्त्र उकास्न प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । स्थानीय उत्पादनको व्यावसायीकरणका लागि मेला सहयोगी बन्ने उहाँको भनाइ छ ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित रुपन्देही उद्योग सङ्घको आयोजनामा १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु भएको हो ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्क स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, विभिन्न विषयमा अन्तरक्रिया गर्ने जनाइएको छ ।
यस पटकको प्रदर्शनीमा सात लाख दर्शकले अवलोकलन गर्ने र रु २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.