सत्ता संघर्ष-विमोचन,सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता गर्ने तर ढाट्ने प्रवृतिले नै राजनीति गलत बाटोमा

 

 

काठमाडौ । प्रमुख राजनीतिक दलका नेताहरुले सत्ता मात्रै सबथोक हो भन्ने प्रवृति अन्त्य गर्नुपर्नेमा जोडदिएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष- ३० वर्षमा २८ सरकारका नालिबेलीको आज काठमाडौमा विमोचन गर्दै नेताहरुले सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता गर्ने तर जनतालाई ढाट्ने प्रवृतिले नै राजनीति गलत बाटोमा जाने बताए ।


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले आफ्नो अखडा बनाएको आरोप लगाए । सत्ताका लागि नेताहरूले जुनसुकै सम्झौता गर्ने शीर्ष नेतृत्व परिवर्तन हुन नसक्दा समस्या बढेको उनले बताए ।
ुनेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयो । मंसिर ४ गते भएको चुनावदेखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्यो भन्ने मात्रै देखिन्छ, थापाको भनाई थियो । संस्था बलियो बनाउन नसक्दा पनि प्रणालीले ठिक काम नगरेको पनि उनको भनाइ छ ।


सत्ता संघर्ष पुस्तक सबै राजनीतिककर्मीले गहन रुपमा अध्ययन गर्नुपर्ने सुझाव दिँदै थापाले राजनीति सत्ताका लागि भए पनि सत्ता केका लागि भन्ने प्रश्नको जवाफ नदिँदा जनविश्वास गम्दै गएको पनि स्पष्ट पारे ।
नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सत्ता र शक्तिको खेलमा मात्रै लागेमा व्यवस्था नै कमजोर हुनसक्ने तर्फ सचेत हुनुपर्ने बताए । सत्ताको राजनीति संसदीय व्यवस्था र विधिको नियमभित्र खेल्नुपर्नेमा जोडदिँदै ज्ञवालीले दलका खेलाडीहरु नै अस्थिरताको कारक बनेको टिप्पणी गरे ।
नेपालको राजनीतिमा कतिपय सन्दर्भमा बाह्य शक्तिको चलखेल खुलेरै देखिने गरेको बताउँदै उनले जनताले स्वीकार्दा मात्रै सरकारहरु टिकाउ हुने बताए ।
नेकपा एकीकृत समाजवादीकी सचिव गरिमा शाहले सत्ता संघर्षको खेलले दलहरुप्रति जनविश्वास घटेको उल्लेख गर्दै ३० बर्षअघिकै जस्तो प्रवृति अहिले पनि देखिएको बताइएन । पुस्तकले इतिहास मात्रै नदेखाएको र अहिलेको राजनीतिक पुस्तालाइ सन्देश पनि दिएको उनको भनाई थियो ।
राजनीतिशास्त्री हरि शर्माले राजनीति गर्नेहरुले सधै शक्ति मात्रै खोज्ने गरेको र नीतिमा सुधार गर्न ध्यान नदिएको बताए। राजनीतिमा देखिएको समस्या नीतिगत हो कि व्यवहारमा हो भन्नेमा प्रष्ट हुन शर्माले राजनीतिकर्मीलाई सुझाव दिए ।
लेखक रामकृष्ण भण्डारीले पुस्तकमा २०४६ सालपछिको परिवर्तन र राजनीतिक दाउपेचलाई उल्लेख गरिएको बताउँदै दलहरुले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने धारणा राखे ।
३० बर्षको राजनीतिक उतारचढाव तथा सत्ता सम्हालेका र राजनीतिक घटनाक्रमका साक्षी समेत रहेका महत्वपूणर् राजनीतिक व्यक्तिहरुसँग विभिन्न घटनाक्रमबारे प्रत्यक्ष कुराकानी गरेर पुस्तक तयार पारिएको बताउँदै लेखक भण्डारीले पुस्तकमा प्राथमिक स्रोतलाई मुख्य आधार बनाइएको उल्लेख गरे । पत्रकार विजय पौडलले नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्न चाहनेहरुका लागि पुस्तक राम्रो श्रोत सामग्री हुने उल्लेख गरे ।
२०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्मको ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली बताउने पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.